वैज्ञानिकहरूले लगभग एक वर्षअघि नयाँ सार्स कोभ २ कोरोनाभाइरस चीनमा देखापरेको जानकारी पाए, तर कोभिड १९ महामरीको केन्द्रमा रहेको उक्त भाइरस लामो समयदेखि अस्तित्वमा रहेको हुनसक्ने एउटा नयाँ अध्ययनले देखाएको छ।
अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का वैज्ञानिकहरूले आफ्नो अध्ययनको निष्कर्ष सङ्क्रामक रोगसम्बन्धी एउटा जर्नलमा प्रकाशित गरेका हुन्।
महामारीको सिलसिला आधिकारिक रूपमा सन् २०१९ को डिसेम्बर ३१ तारिखमा चीनको वुहान शहरका स्वास्थ्य अधिकारीहरूले एउटा रहस्यमय श्वासप्रश्वाससँग जोडिएको भाइरसका शृङ्गखलाबद्ध घटनाहरूका बारेमा चेतावनी जारी गरेपछि सुरु भएको थियो ।
तर अहिले ११ महिनापछि अनुसन्धानकर्ताहरूले अमेरिकाका तीनवटा राज्यका ३९ जनामा चीनले चेतावनी जारी गर्नुभन्दा दुई हप्ताअघि नै “एन्टीबडी’ विकास भइसकेको फेला पारेका छन् । अमेरिकामा सार्स कोभ २ जनवरी २१, २०२० अघि देखापरेको थिएन । तर अध्ययनले १३ डिसेम्बर २०१९ र १७ जनवरी २०२० को बीचमा गरिएका नियमित रक्तदानका क्रममा सङ्कलन गरिएका ७ हजार ३८९ नमुनामध्ये १०६ वटामा कोरोनाभाइरसको एन्टीबडी फेला पारेको छ । कुनै व्यक्तिको रगतमा एन्टीबडी देखापर्नुको अर्थ त्यस्ता मानिसहरू भाइरसको सम्पर्कमा पुगेर उनीहरूका शरीरको प्रतिरोधी प्रणालीले रक्षात्माक प्रतिक्रिया जनाउन थाल्नु हो ।
त्यसमध्ये क्यालिफोर्निया, ओरिगन र वाशिङ्गटनमा १३ देखि १६ डिसेम्बरका बीचमा दान गरिएका रगतका ३९ वटा नमुनामा कोरोनाभाइरसको एन्टीबडी पाइएको थियो। उनीहरूले कनेटिकट, आयोवा, मासचूसिट्स, मिशिगन, रोड आइल्यान्ड र विस्कन्सिनमा जनवरीको प्रारम्भमा सङ्कलन गरिएका ६७ नमुनामा पनि एन्टीबडीहरू फेला परेका थिए। त्यसबेला ती राज्यमा सङ्क्रमण फैलिसकेको थिएन । सुरुमा सङ्क्रमित भएका बहुसङ्ख्यक पुरुष थिए र उनीहरूको औसत उमेर ५२ वर्ष रहेको थियो । वैज्ञानिकहरूले कतिपय एन्टीबडीहरू विश्वमा पहिल्यै अस्तित्वमा रहेका अरू प्रकारका कोरोनाभाइरसले निम्त्याएको प्रतिरोधी प्रतिक्रियाका कारण उत्पन्न भएको हुनसक्ने बताएका छन् । तर अध्ययनका क्रममा ठूलो सङ्ख्यामा मानिसहरूमा एन्डीबडीहरू फेला परेकाले त्यसबेला केही मानिसहरूलाई कोभिड(१९ भइसकेको हुनसक्ने बढी सम्भावना रहेको उनीहरूको ठम्याइ छ । अनुसन्धानकर्ताहरूले व्यापक रूपमा फेब्रुअरी महिनामा अमेरिकामा कोरोनाभाइरस समुदाय स्तरमा फैलिएको उल्लेख गरेका छन् ।
कोरोनाभाइरस कहिले देखापर्यो ?
सार्स कोभ २ भाइरस देखापरेको वास्तविक समय कुन हो भन्ने प्रश्नको जवाफ हामी कहिल्यै नपाउन सक्छौँ । कैयौँ सङ्केतहरूले उक्त भाइरस चीनको वुहानमा पहिलो पटक डिसेम्बर २०१९ मा महामारी देखापरेको समयभन्दा हप्तौँ वा महिनौँअघि फैलिरहेको देखाउँछ । तर सीडीसीका अनुसन्धानकर्ताहरूले उनीहरूको अध्ययनको सीमा रहेको र मानिसहरू आफ्नै देशमा वा यात्रा गर्दा सङ्क्रमित भएको छुट्ट्याउन नसकिएको बताएका छन् । ती नमुना सङ्कलन गरेको रेडक्रसले रक्तदान गर्नुभन्दा एक महिनाअघि आफ्ना तीन प्रतिशत दाताले मात्रै विदेशको भ्रमण गरेको जानकारी गराएको उल्लेख गरेको छ। त्यसको पाँच प्रतिशतले मात्रै आफूहरू एशिया गएको बताएका थिए । अरू अध्ययनहरूले पनि चीनले आधिकारिक रूपमा कोरोनाभाइरसको चेतावनी दिनु अगावै सङ्क्रमण देखिएका प्रमाण फेला पारेका छन् ।
गत मे महिनामा फ्रान्सका वैज्ञानिकहरूले विभिन्न नमुनामा गरिएको एउटा अध्ययनले निमोनियाको आशङ्कामा डिसेम्बर २७ तारिखमा प्यारिसनजिकै उपचार गरिएका एक बिरामीमा कोरोनाभाइरस रहेको बताएका थिए । कैयौँ देशका अनुसन्धानकर्ताहरूले महामारी आधिकारिक रूपमा सुरु भएको अवधिभन्दा हप्तौँ वा महिनौँ पहिले ढलबाट सङ्कलन गरिएका पानीमा कोरोनाभाइरस देखापरेको बताएका छन् । जून महिनामा इटलीका वैज्ञानिकहरूले मिलान र टुरीनमा ढलबाट सङ्कलन गरिएका पानीमा कोरोनाभाइरसको अवशेष फेला परेको बताएका थिए। त्यो इटलीले पहिलो सङ्क्रमण पुष्टि गर्नुभन्दा निकै अघि हो । स्पेनमा गरिएको एउटा अध्ययनमा मध्य जनवरी अर्थात् पहिलो सङ्क्रमण पुष्टि भएको करिब ४० दिनअघि बार्सिलोनामा फोहोर पानीमा कोरोनाभाइरसको अवशेष पाइएको थियो ।
अझै के के प्रस्ट छैन ?
अहिले ब्राजिलमा पनि कहिले कोरोनाभाइरस पुग्यो भन्नेबारे ताजा सवालहरू उठिरहेका छन् । त्यहाँ सबैभन्दा पहिला इटलीबाट फर्किएका साओ पाउलोका एक ६१ वर्षीय व्यापारीमा फेब्रुअरी २६ मा कोरोनाभाइरस देखापरेको थियो । त्यसबेला इटली महामारीको दोस्रो केन्द्रबिन्दु बनेको थियो । तर फेडेरल युनिभर्सिटी अफ सान्टा क्याटारीना (यूएफएससी) का अनुसन्धानकर्ताहरूको एउटा समूहले चाँडोमा २७ नोभेम्बर, २०१९ मा भाइरस ढलमा देखिएको पत्ता लगाएका थिए । अर्को अध्ययनले ब्राजिलमा पहिलो आधिकारिक सङ्क्रमण देखापर्नु एक महिनाअघि कम्तीमा एउटा सार्स कोभ २ को घटना देखिएको उल्लेख गरेको छ । त्यो विदेश यात्रासँग जोडिएको थियो वा थिएन भने प्रस्ट छैन । अझै पनि सार्स कोभ २ ले कसरी र कहिले मानिसलाई सङ्क्रमित बनाउन थाल्यो र कुन जनावरबाट यो मानव शरीरमा प्रवेश गर्यो भन्ने प्रस्ट भइसकेको छैन ।
सुरुमा ताजा र मृत जङ्गली जनावर पाइने वुहानको बजारलाई प्रारम्भिक सङ्क्रमणसँग जोडिएकाले सबैको ध्यान त्यतै गएको थियो। तर अनुसन्धानकर्ताहरूले भाइरस त्यहाँ नै देखापर्यो वा त्यसले त्यहाँको अवस्थाबाट लाभ लिएर एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्यो भन्ने प्रस्ट छैन । ‘यदि तपाईँ मलाई कुन सम्भावना धेरै छ भनेर सोध्नुहुन्छ भने, म भन्छु कि त्यो भाइरस जङ्गली जनावर विक्री गर्ने बजारबाट आयो,’ युनिभर्सिटी अफ हङ्कङका सूक्ष्मजीव वैज्ञानिक के वाइ युनले भने । चीनकै पनि भाइरसको समयतालिका आफैँ पछि सरेको छ जुन द्रुत गतिमा विस्तार भइरहेको रोगको अनुसन्धान गरिरहँदा नौलो होइन । यसै वर्षको सुरुमा द लान्सट मेडिकल जर्नलमा प्रकाशित भएको वुहानका चिकित्सकहरूले गरेको अध्ययनले कोभिड १९ को पहिलो घटना १ डिसेम्बर २०१९ मा देखापरेको उल्लेख गरेको थियो। त्यसमा सार्वजनिक बजारको भने चर्चा गरिएको थिएन । कतिपय विज्ञले महामारीको स्वरूप ग्रहण गर्नसक्ने सम्भावना भएको भाइरस गुपचुप रूपमा महिनौँसम्म विश्वमा विभिन्न ठाउँमा यात्रा गर्न नसक्ने तर्क गरिरहेका छन् । तर चिसो महिनामा उत्तरी गोलाद्र्धमा केही हप्ता भने भाइरस भित्रैभित्रै सल्किएको हुनसक्ने सम्भावना भने देखिन्छ ।
बीबीसीबाट

फेसबुकबाट तपाइको प्रतिक्रिया