विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो,अमेरिकामा मात्रै ३ लाखको मृत्यु

विश्वमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ३ सय भन्दाबढी संक्रमितको मृत्यु भएको छ । योसँगै १६ लाख १ हजार ८८ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८२ हजार ५ सयत्रढी संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ४ करोड ९६ लाख ३४ हजार नाघेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ९९ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड १४ लाख ३३ हजार ७६५ पुगेको छ । हाल विश्वभर २ करोड १ लाख ९८ हजार ५९१ जना सक्रिय संक्रमित छन् भने एक लाख ६ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ६२ लाख ९५ हजार ४५८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९५ लाख ७ हजार ४१९ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ ।

त्यसैगरी, भारतमा सक्रमितको संख्या ९८ लाख २७ हजार २६ पुगेको छ ।संक्रमितमध्ये एक लाख ४२ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९३ लाख २३ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६८ लाख ३६ हजार नाघेको छ भने १ लाख ८० हजार ४५३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५९ लाख ५४ हजार भन्दा बढी निको भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया