नेपालबाट सुरक्षाकर्मी लैजाँदा कतारले तोकिएको प्रक्रिया मिच्ने गरेको सरकारी निष्कर्ष

काठमाडौं । नेपालबाट‘कतारी प्रहरी’मा भर्ना गर्ने गरी काठमाडौंमा विभिन्न म्यानपावरमा भएका अन्तर्वार्तामा कतार सरकारकै अनधिकृत भूमिका देखिएको छ ।

वैदेशिक रोजगार विभागको अनुसन्धान प्रतिवेदनमा कतार प्रहरीमा पठाउने भन्दै काठमाडौंमा भएका अवैध अन्तरवार्तामा कतार सरकारकै अधिकारीहरु संलग्न रहेको उल्लेख छ । नेपालबाट सुरक्षाकर्मी लैजाँदा कतारले तोकिएको प्रक्रिया मिच्ने गरेको प्रतिवेदनको निष्कर्ष छ ।

कात्तिक २४ गते संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई कतारको रोजगारीमा सिन्डिकेट लाद्न खोजिएकोबारे अनुसन्धान गर्न श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएअनुसार २५ गते समिति बनेको थियो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल संयोजक रहेको समितिले समितिले अनुसन्धान सकेर प्रतिवेदन लेख्दै गर्दा मंसिर ८ र ९ गते होप इन्टरनेसनल ओभरसिज, डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीले कतार पठाउने नाममा श्रम स्वीकृति नलिई कामदारसँग अन्तर्वार्ता लिइरहेको भेटिएको थियो ।

कतार सरकारकै सक्रियतामा अवैध प्रक्रियाबाट ‘सुरक्षा मजदुर’ लैजान प्रयास भएको प्रतिवेदनले औंल्याएको छ । कतारमा सुरक्षाकर्मी लैजान नेपाल सरकारले तोकेको प्रक्रिया छल्न खोजिएको प्रतिवेदनको निष्कर्ष छ । कतारस्थित नेपाली दूतावासले नयाँ श्रमिकको मागपत्र प्रमाणीकरण सुरु नगर्दै अन्तर्वार्ता लिएको पाइएको थियो । बिभागले छापा मार्दा कतारी दूतावासको ४५–सीडी–००९ नम्बरको गाडी होप इन्टरनेसनल परिसरमै भेटिएको थियो । त्यहाँ चारजना कतारी नागरिक पनि भेटिएका थिए । उनीहरु कतारको आन्तरिक मामिला मन्त्रालय (मिनिस्ट्र अफ इन्टेरियर) का अधिकारी भएको र अन्तर्वार्ता लिन काठमाडौं आएको तथ्य त्यतिबेलै बाहिरिएको थियो ।

विभागले कागजात जफत गरेर स्पष्टीकरण सोधेपछि अनुसन्धान प्रतिवेदनलाई अन्तिम रुप दिएर संसदीय समतिमा पेश गरिएको हो ।

कतार सरकारकै सक्रियतामा अवैध प्रक्रियाबाट ‘सुरक्षा मजदुर’ लैजान प्रयास भएको प्रतिवेदनले औंल्याएको छ । कतारमा सुरक्षाकर्मी लैजान नेपाल सरकारले तोकेको प्रक्रिया छल्न खोजिएको प्रतिवेदनको निष्कर्ष छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया