भरतपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्जकका रचनाले मुलुकको परिवर्तन र समृद्धिका लागि भूमिका खेल्नुपर्ने बताएका छन् ।
चितवनको नारायणगढमा गीतकार सङ्घ नेपालको आठौँ स्रष्टा सम्मान तथा दशौँ वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले मुलुक परिवर्तन गर्ने दायित्व सबैको काँधमा आएको बताए ।
“परिवर्तनका लागि जनतामा गीत–सङ्गीत र रचनाले जुन छाप छोड्छ भाषणले छाड्दैन”, उनले भने, “देशमा ठूला परिवर्तनका लागि गीत–सङ्गीतले महत्वपूर्ण भूमिका खेलेको छ ।” राष्ट्र निर्माणमा गीतकार, सङ्गीतकार, कलाकार सबैको ध्यान केन्द्रित हुनुपर्नेमा मुख्यमन्त्री पौडेलको जोड छ । “कलममा भएको शक्ति अरु केहीमा छैन, यसले सिङ्गो मुलुकलाई परिवर्तन गर्न सक्छ”, उनले भने। हरेक कुरामा नकरात्मक नभई सकरात्मक सोचका साथ मुलुक परिवर्तन गर्ने दायित्व हामी सबैको भएको उनले बताए ।
मुख्यमन्त्री पौडेलले देशमा व्यवस्था परिवर्तन भए पनि आचरणमा परिवर्तन ल्याउन नसकेको बताएका छन् । देशमा जुनसुकै तन्त्र आए पनि नागरिकले अनुभूत गर्ने खालको परिवर्तन हुनुपर्ने भन्दै उनले सबैको कार्यशैली परिवर्तन हुनुपर्नेमा जोड दिए। “देशमा राज्य व्यवस्था फरक हँुदैमा केही हँुदैन”, उनले भने, “परिवर्तनका लागि सकरात्मक सोचको विकास गरौँ ।” नेपाली गीत सङ्गीत, भाषा, संस्कृतिको संरक्षण र उत्थान गर्नुपर्नेमा उनको जोड छ । नेपाली लोकसङ्गीत नसुन्ने अहिले गाउँदै हिँड्न थालेका मुख्यन्त्री पौडेलले बताए।
कार्यक्रममा यस वर्षको राष्ट्रिय स्रष्टा सम्मानबाट गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनलाई सम्मान गरिएको थियो । उनलाई मुख्यमन्त्री पौडेलले नगद रु एक लाख ५१ हजारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरे। सो अवसरमा बोल्दै गीतकार नन्दनले सम्मानित हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताए । उनले पुरस्कार सम्पूर्ण साहित्य जगत्लाई प्रदान गरेको अनुभूत आफूले गरेको बताए ।
यस्तै यस वर्षको उत्कृष्ट गीतकारका रूपमा महेश आचार्य र डायस्पोरा सम्मान अर्जुनरत्न भिखारीलाई प्रदान गरिएको छ । कार्यक्रम गीतकार सङ्घका अध्यक्ष चुणामणि देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया