काठमाडौं । सुरक्षा निकायमा लामो समय काम गरेर अवकाश पाएकाहरुले पूर्वसुरक्षाकर्मी परिषद् गठन गरेका छन्। नेपाली सेनामा लामो समय काम गरेर अवकाश पाएका केवी राउतको संयोजकत्वमा परिषद् गठन गरिएको हो। परिषद्मा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, भारतीय सेना तथा बेलायती सेनामा काम गरेकाहरुले संयुक्त रुपमा सहभागिता रहेको छ।
राजधानीमा आयोजित परिषद्को समुद्घाटन कार्यक्रममा नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवालले अहिले देशको सीमा र स्वाधीनतामाथी ठूलो प्रहार भइरहेको बताए। भारत र चीनसहित विश्वका शक्तिशाली मुलुकबाट नेपाललाई साइलेट आक्रमण भइरहेको भन्दै यसको रक्षाका लागि सबै लागिपर्न कटुवालले आग्रह गरे।
रगत बगाएर जोगाएको सीमामा विदेशी र दलालीसँग साँठगाँठ गरेर हस्तक्षेप हुन थालेको भन्दै सबै सचेत बन्न उनले आग्रहसमेत गरे। कार्यक्रममा राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माले सुरक्षाकर्मीकै कारण मुलुकको सुरक्षा भएको भन्दै अब एकजुट भएर अगाडि बढ्न आग्रह गरे। हारेर थाकेको नभई उमेरले अवकाश पाएको भन्दै धेरै ज्ञान र क्षमता सुरक्षाको विषयमा भएकाले राज्यले चिन्न सक्नुपर्ने धारणा उनको थियो।
कार्यक्रममा नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले दलाली र चाकडी गरेर पदमा पुगेकाहरुले मुलुकमा हित र संगठनमा काम गर्न नसक्ने पुष्टि भएको भन्दै यस्ता प्रवृत्तिविरुद्ध उत्रिन सबैमा आग्रह गरे। रगतका धर्साले सीमा जोगाएको, कर्तव्य पालनाका लागि लड्दा घाइते र अपाड्गसहित शहिदसम्म भएको उदाहरण दिँदै उनले अब सुरक्षाकर्मीहरु एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए।
कार्यक्रममा पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ, पूर्वसहायक रथी डा प्रेमसिंह बस्नेतलगायतले बन्दुक र गोली चलाउनेहरु आदेश पालनामात्रै होइन‚ विवेकशील र सचेत भएको सन्देश दिन परिषद् गठन गरिएको बताए। परिषद्ले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै नागरिक समाजको भूमिका निर्वाह गर्दै अग्रणी संस्था बनाउने परिषद्का अध्यक्ष राउतको भनाइ छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया