काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका जिल्ला अध्यक्ष नेत्र पौडेलले पार्टी छाड्ने निर्णय गरेका छन् । अध्यक्ष पौडेलले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी नेतृत्वमा नरहने जानकारी दिएका छन् । पौडेलले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै पार्टी निर्माणको अभियानबाट अलग रहेको घोषणा गरेका छन् ।
यस्तो छ पौडेलको फेसबुक स्टाटस
जीवनको पीड़ादायी निर्णय
सुन्दर र पक्की घर निर्माण गर्ने दृढ़ अठोटका साथ धेरै नवजवानहरू बर्षौंदेखि अहोरात्र खटे । कसैले काठ काटे , कसैले ढुंगा जुटाए, कसैले इँट्टा बनाए, कसैले रड सिमेण्टको जोहो गरे, कतिले कर्मी कामको तालीम लिए ,कतिले सेनिटरी सामान ल्याए ।
सबै सामान एक ठाउँमा जम्मा भयो प्राविधिक ईस्टमेट गरियो सबै सामानबाट एउटै घर बनाए कम्पाउण्ड वालसहित सुरक्षित र बलियो घर बन्ने तर धेरै घर बनाउन खोजे सबै अधुरो हुने निष्कर्ष आयो ।
सबै सामाग्री एउटै घरको लागी लगाउने निर्णय भयो । सोचे जस्तै कम्पाउण्ड वाल सहितको घर निर्माण भयो । सबै अगुवाहरूले आआफ्नो कोठा लिए । श्रमिकहरूको थाक थलोको टुंगो लाग्दै थियो । कोठा रोजी सकेकाले एक अर्काको कोठा हेरे आफ्नो भन्दा तिम्रो राम्रो र सुबिधा सम्पन्न रेछ साटफेर गर्नु पर्यो भन्ने विवाद शुरू भयो ।
सबै आ-आफ्ना कुरा अडानमा डग्मगाएनन् । सबै अगुवा गल बोकेर घरको चार सुरमा पुगे । बिना मुलाहिजा जगको ढुंगा निकाले । हेर्दा हेर्दै घर गर्लम्म ढल्यो ।
अब फेरि नयाँ अलग अलग घर बनाउन लडेका घरका काम लाग्ने सामान कसकसले जम्मा गरेको हो आआफ्नो पट्टी थुप्रो लगाउने होड शुरू भएको छ । त्यो तानातानमा अझै कति सामान नष्ट हुने हुन कुनै ठेगान छैन । मन दुःखेको छ, अहिलेसम्मको दुःख समाप्त भएको छ । फेरि अर्कों घर निर्माण गर्न मनले कत्ति पनि मानी रहेको छैन ।
घर नबनाए ओढारको बास हुने कुरा राम्ररी बुझेको छु । तर मन बरू त्यसै गर्न घर लडेकै दिनदेखि तयार थियो । आजसम्म मनलाई अन्तिम निर्णय लिने मौका दिए । अन्तिम पटक पनि मनले भन्यो बरू ओढारमा बस । फेरि पनि गल सुरक्षित छन् तेरो श्रमको सुरक्षित हुने कुनै ग्यरेन्टी छैन । जब मन नै अगाडडि लागदैन भने तनमात्र लिएर हिँड्नु मन हुनेका लागि पनि घातक हुन्छ ।
नयाँ घर बनाउने जिम्मा नयाँ पुस्ताको काँधमा छाड्दै यो अभियानबाट अलग रहने निर्णय गरें । आफ्ना सहयात्रीहरूसँग नाई र हुन्न भन्न नसक्ने कमजोरीका कारण केही समय सम्पर्क बाहिर हुनेछु । यस विषयमा सम्झाउने करा गरेर समयको बर्बादी नगरी आआफ्नो योजनामा लाग्नु होला ।
राजनीतिक सहयात्राको दौरान साथ सहयोग गर्नु हुने सबैप्रति आभार व्यक्त गर्दै अन्य सामाजिक यात्रामा भेट हुने नै छ । यस निर्णयले कसैको भावनामा चोट पुगेमा क्षमा प्रार्थी छु ।……,..

फेसबुकबाट तपाइको प्रतिक्रिया