नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आज देशभर प्रदर्शन गरिरहेको छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गरिरहेको हो । भक्तपुरमा आयोजित सरकारको कदमको विरोध सभालाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्ने सरकारको कदमबारे अदालतमा मुद्दा विचाराधीन रहेकाले पुनःस्थापनाको पक्ष वा विपक्षमा नबोल्ने बताए ।
सभापति देउवाले प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने निर्णय भने असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । उनले सरकारले संसद् विघटन गरेर निर्वाचनसमेत घोषणा गरिसकेकाले अब कसरी जाने भन्नेबारे छिट्टै केन्द्रीय समितिको बैठकले टुंगो लगाउने बताए ।
काठमाडौं क्षेत्र नम्बर एकको विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओेलीको असंवैधानिक कदमलाई कांग्रेसलाई कुनै हालतमा नमान्ने बताए । सिंहले संसद विघटनविरुद्ध काँग्रेस विज्ञप्तिमा निकालेर नबस्ने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले पार्टीभित्रको किचलोको झोकमा जनप्रतिनिधिको थलोमाथि प्रहार गर्नुभयो । त्यो पनि असंवैधानिक तरिकाले संसद भंग गरिएको छ । यो संविधानमाथि प्रहार र जनताको अपमान हो । यस्तो कदम नेपाली काँग्रेस मान्य हुँदैन ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया