वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई पार्टीमै फिर्ता आउन आग्रह गरेका छन् ।
नेकपा ओली समूहले वीरगञ्जमा आयोजना गरेको प्रदेश भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड र माधव नेपाललाई पार्टीमा अझै ठाउँ राखेको समेत बताए । तर त्यसका लागि नेताद्वयले विगतमा गरेको गल्ती सच्याउनुपर्ने र प्रचण्डले प्रधानमन्त्री ओली विरुद्ध पेश गरेको आरोप पत्र फिर्ता लिनुपर्ने उनको भनाइ छ ।
‘अहिले पनि हामीले ठाउँ राखेका छौं, पार्टी एकता जोगाउन कोशिस गरेका छौं । उहाँहरुले गैर वैधानिक बैठक आयोजना गरेर प्रधानमन्त्रीलाई अध्यक्षबाट हटाएको कुरा गर्नुभएको छ । प्रचण्डजीलाई हामीले अध्यक्षको कार्यकारी भूमिकाबाट मात्रै हटाएका छौं, अध्यक्षबाट हटाएका छैनौं, माधव नेपाल वरिष्ठ नेता नै हुनुहुन्छ’ उनले भने ।
पुस ५ गते झुक्याएर अविश्वासको प्रस्ताव दर्ता गर्ने र सरकारलाई अपदस्त गरेर सत्ता कब्जा गर्ने गलत चेष्टा भएकोले नै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनतामा जाने निर्णय गरेको पौडेलले बताए । ‘प्रधानमन्त्रीले त्यसलाई प्रतिवाद गर्ने निश्चय गर्नुभयो र संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नुभयो । ताजा जनादेशमा जाने निर्णय राष्ट्रिय राजनीतिलाई नयाँ दिशा प्रदान गरेको छ ।
कार्यक्रममा नेता रघुविर महासेठले पार्टीका वरिष्ठ नेताहरुले नै प्रधानमन्त्रीलाई इरिटेड बनाएको आरोप लगाए । उनले प्रधानमन्त्रीले खुशी भएर नभई बाध्यात्मक स्थितिमा संसद विघटन गरेको बताए ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा मधेसमा करोडौं बजेट विनियोजन भएको बताए


फेसबुकबाट तपाइको प्रतिक्रिया