नेकपाका संस्थापक महासचिव पुष्पलालको जन्मभूमि रामेछापले भन्यो: एकता विकल्प छैन

रामेछाप ।  नेकपाभित्र केन्द्रदेखि वडा तहसम्मै समानान्तर भेला सञ्चालन भइरहेको छ । रामेछाप जिल्लामा पनि नेकपा ओली समुह र प्रचण्ड–नेपाल समुहले फरक फरक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

जिल्ला भेला हुँदै स्थानीय तहबाट अहिले वडा तहमा समेत धमाधम भेलाको कार्यक्रम दुवै समुहले सञ्चालन गरिरहेका छन् । दुई समुहमा विभाजित भइरहेको बेला नेकपा रामेछाप कमिटीमा रहेका पदाधिकारीहरु भने एकै ठाउँमा उभिएर एकताबद्ध रहेको सन्देश दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र शहीद गंगालालको जन्मभूमि समेत रहेको रामेछाप नगर कमिटीमा रहेका अध्यक्ष, सचिव र तीन जना कार्यालय सदस्यहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर पार्टी एकताबद्ध रहेको सन्देश दिएका हुन् ।

नेकपा रामेछाप नगर कमिटीका अध्यक्ष मोतीलाल तामाङ, सचिव होतराज ढकाल, कार्यालय सदस्य रोशन पाख्रिन, कार्यालय सदस्य नरेशबाबु श्रेष्ठ र कार्यालय सदस्य इन्दिरा बख्रेलद्धारा संयुक्त रुपमा जारी गर्दै आफूहरु पार्टी एकताको पक्षमा उभिएको बताएका छन् ।

पार्टी फुटको अवस्थामा रामेछाप नगर कमिटी नेकपाको संस्थापक महासचिव पुष्पलाल र प्रजातान्त्रिक आन्दोलनका महान शहीद गंगालालको जन्मभूमिबाट रामेछाप नगर कमिटी एकताबद्ध रहेको विज्ञप्तीमा भनिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया