हेटौंडा । बागमती प्रदेशको हिउँदे अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । ६ महिनापछि सुरु भएको प्रदेशसभाको एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अन्तर ६ महिना भन्दा बढी हुन नहुने संवैधानिक बाध्यताका कारण बोलाइएको बैठक सुरु भएकै दिन सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिदिए ।
हिउँदे अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले सम्बोधन गरे । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारको चर्को विरोध गरिन् भने मुख्यमन्त्री डोरमणि पौडेल केही नरम देखिए ।
पौडेलले संसद विघटनको कुरा सर्वोच्च अदालतले सही र गलत भन्ने बताउँदै सरकार विकास र समृद्धिको अभियानमा हिँड्दा अहिले केही बाधा आइपरेको बताए । ‘सरकार ढलाउने खेल सुरुदेखि नै भएपनि संविधानका कारण रोकिएको हो, पहिले बामगती प्रदेश सरकारमा एकै स्वरमा बोल्नेहरु पनि अहिले फरक ढंगले प्रस्तुत भएका छन्’ उनले भने ।
प्रचण्ड–नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले कानूनी रुपमा नेकपा नफुटे पनि अलग भइसकेको बताएकी छिन् । शाक्यले भनिन् ‘नेकपाका लागि मात्रै नभई मुलुककै लागि ओलीको कदम दुर्भाग्यपूर्ण हो ।
शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको पूर्वअध्यक्ष भएको दाबी गर्दै आफू अहिले बागमती प्रदेश नेकपा संसदीय दलको नेता भएको बताइन् । ‘५ वर्ष सरकार चलाउ भनेर जनताले हामीलाई जिताएको हो ।
बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले कांग्रेस सरकारमा जान आतुर नभएको भन्दै नेकपा मिल्नुपर्ने बताएका छन् ।
कांग्रेसलाई जनताले प्रतिपक्षको भुमिका दिएको भन्दै ५ वर्ष सम्म कांग्रेस प्रतिपक्षमा बस्न तयार भएको बानियाँले बताए ।
नेपाल मजदुर किसान पार्टीका सांसदसुरेन्द्रराज गोसाईले प्रदेश सरकार हराएको छैन है भनेर बल्ल चर्चा सुरु भएका बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया