वाग्मतीमा फोहर फाल्ने तीन कम्पनी कारवाहीमा

काठमाडौँ । उत्तरतर्फको चक्रपथ सफाइ अभिायन २००औँ हप्तामा प्रवेश गरेको छ । अभियानले २०० औँ हप्ता प्रवेशका अवसरमा शनिबार विशेष कार्यक्रम आयोजना गरेको छ ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, जनप्रतिनिधि, कलाकारको उपस्थितिमा विशेष कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले सफाइ अभियानलाई जागरणका रुपमा टोल टोलमा बिस्तार गरिनुपर्नेमा जोड दिएका छन् ।

यस्तै, ललितपुरस्थित गोदावरी नदी सफाइ अभियानको १००औँ हप्तामा विशेष कार्यक्रम आयोजना गरिएको छ । महालक्ष्मी नगरपालिका वडा नं ६ र ८ जोड्ने विष्णुडोल पुल क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख रामेश्वर श्रेष्ठले खोलाको विस्तृत परियोजना प्रस्ताव तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिए ।

प्रस्ताव स्वीकृत भएपछि तीनै तहका सरकारकाबीच समन्वय गरी नदीलाई सफा बनाउन थप सहयोग मिल्ने बताए । सफाइको नेतृत्व बेबी राजभण्डारीले गरिरहेकी छिन्।
विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी पनि सफाइ हुन थालेको हो । उपत्यक बाहिर पनि प्रमुख शहर र नदी गरी १०६ भन्दाबढी स्थानमा सफाइ भइरहेको छ ।

यसैबीच शनिबार गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीका विभिन्न स्थान, मनोहरा, हनुमन्तेलगायत स्थानमा पनि सफाइ गरिएको छ । यस्तै, वाग्मती सफाइ महाअभियानको ४०३औँ हप्तामा नदी किनारमा फोहर फाल्ने तीन कम्पनीलाई कारवाही गरिएको छ । तीनकुनेस्थित नदी किनारमा सफाइका क्रममा काठमाडौँ महानगरपालिकाले नदी किनारमा फोहर फालेका गरिमा वर्कशप तीनकुनेलाई रु दुई हजार, विनोद पानपसल आलोकनगरलाई रु एक हजार र बानेश्वर क्याफे आलोकनगरलाई रु ५०० जरिवाना गरिएको अभियानकर्मी गोविन्द काफ्लले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया