काठमाडौं । चीनले पनि नेपाललाई आफ्नो देशमा उत्पादन भएको कोभिडविरुद्धको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावासले दिएको जानकारीअनुसार छिटै नेपाललाई अनुदानमा खोप दिइनेछ । संसारभरि र चीनभित्रै पनि ठूलो माग भए पनि नेपाल-चीन मित्रताको महत्वका कारण चीनले नेपाललाई खोप दिन लागेको दूतावासले उल्लेख गरेको छ ।
नेपालमा भारतले अनुदानमा खोपपछि चीनले दिएको खोप १ लाख ५० हजार जना मानिसमा लगाउन मिल्ने गरि खोप अनुदानमा उपलब्ध गराउने भएको हो । चीनले दिन लागेको खोप चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको हो ।
यो भ्याक्सिनले चीनमा यसअघि नै सशर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई दिइसकेको दूतावासले जनाएको छ ।
दूतावासले खोपको सुरक्षा र प्रभावकारिता विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डभन्दा माथि रहेको उल्लेख गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया