सभामुखले संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता पठाएकोमा राष्ट्रियसभाका अध्यक्षको आपत्ति

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्नीप्रसाद सापकोटाले संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता पठाएकोमा आपत्ति जनाएका छन् ।

सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष तिमिल्सिनाले सभामुखको अधिकारक्षेत्र र पत्रमा प्रयोग भएको बेहोराप्रति आपत्ति जनाएका हुन् । संघीय संसद अन्तरगत दुई सदन रहेको र दुवै सदनका पदाधिकारीको हैसियत बराबर रहेकाले प्रतिनिधिसभाका सभामुखले मात्रै एकल ढंगले निर्णय गर्न नमिल्ने उनको तर्क थियो । उनले सभामुखको एकल निर्णयले संघीय संसदको अर्को सदन राष्ट्रियसभाको गरिमामा प्रहार भएको बताए ।

उनले नेपालको संविधान र संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०७५ ले संयुक्त समितिहरु सञ्चालनको अधिकार संघीय संसदको कुनै एक सदन वा पदाधिकारीमा निहित नगरेको जिकिर गरे ।

उनले सुनुवाईका लागि परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिको दुई तिहाई बाहेकका अन्य कुनै पनि निकाय वा पदाधिकारीलाई अस्वीकार वा फिर्ता गर्ने कानूनी व्यवस्था नभएको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया