नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ ।
नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ । हड्ताल सफल बनाउन बिहानैदेखि नेकपाका नेता कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् ।
केही ठाउँमा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी भएको छ । सडकमा टायर बालेर प्रदर्शन गरेका कार्यकर्ता र प्रहरीबीच ठाउँठाउँमा घम्साघम्सी भएको हो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड नेपाल समूहले आकस्मिकरुपमा हड्ताल घोषणा गरेको थियो ।
यसैबीच, सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ महानगरपालिका–२६ आत्मज्ञानस्थित सडकमा आज बिहान ६ः३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी गर्दा ट्याक्सी जलेर नष्ट भएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका अज्ञात समूहले ट्याक्सी आगजानी गरेको जानकारी दिए । ट्याक्सी आगजानी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा उक्त पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगरलगायत रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया