धनकुटा । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले केपी ओली नेतृत्वको सरकारलाई नेकपाले तीन वर्षसम्म सहयोग गरेको प्रष्ट पारेका छन् । ओली सरकारमा झण्डै तीन वर्ष ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीसमेत रहनुभएका पुनले बरु पार्टीले सहयोग पुर्याएको बताए ।
पार्टीका अध्यक्ष, संसदीय दलका नेता र प्रधानमन्त्री मानेका व्यक्तिले संविधानमाथि घात गरेपछि बाध्य भएर आफूहरुले विरोध गर्नुपरेको उनको भनाइ थियो । तीन वर्षसम्म सरकारले संसदमा पेश गरेका नीति तथा कार्यक्रम र बजेट तथा सरकारका तर्फबाट पेस भएका धेरै विधेयक ससंदले पारित गरेको उल्लेख गरे ।
‘तीन वर्षसम्म सबै नीति कार्यक्रम र बजेट पार्टीको समर्थनमा संसदमा उत्साहजनक रुपमा पास भए । त्यहाँ कुनै अवरोध भएन’, धनकुटा सदरमुकाममा संसद विघटनविरुद्ध आयोजित सभालाई शनिबार सम्बोधन गर्दै पुनले भने, ‘पहिलो वर्ष झण्डै १ सय १६ वटा विधेयकहरु संसदमा पेस भए । संविधानसँग सम्बन्धित अति आवश्यक विधेकय थिए, ती सबै फटाफट पास भए । म एउटा मन्त्रीका हैसियतले झण्डै तीन वर्ष काम गर्दा देखेको छु, पार्टीले पूरै सहयोग गरेको छ ।’
प्रधानमन्त्री ओली स्वयंले कयौंपटक सार्वजनिक अभिव्यक्तिका क्रममा संसारमै छोटो समयमा धेरै कानून बनाउने मुलुक नेपाल भएको र आफ्नो कार्यकालमा जति छिटो विकास विश्वमै नभएको दाबी गर्दै हिंडेको चर्चा गर्दै पुनले तर, अहिले संसद र पार्टीले काम गर्न दिएन भन्नुको तुक नरहेको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया