काठमाडौं । नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । बरु ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी शक्तिहरुबीच सहकार्य गरेर अगाडि बढ्ने उनले बताए ।
पार्टी सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन, कुनै भ्रममा नपर्नुस् ।
‘केपी ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन’ उनले अघि भने, ‘बाम लगाएर आँसु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन् र मुर्ख बनाएर पठाइयो भन्छन् । तपाईहरु यस्ता कुराको भ्रममा नपर्नुस् ।
बालुवा पेलेर तेल निस्किनु र प्रधानमन्त्री ओली सुध्रिनु एउटै भएको उनको टिप्पणी छ । स्थायी कमिटीमा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने पहिलो व्यक्ति बामदेव गौतम नै अहिले उनलाई सुधार्ने कोशिशमा लागेको भन्दै प्रचण्ड(माधव समूहका अध्यक्ष नेपालले भने,‘अहिले फेरि केपी ओलीलाई सुधार्न कोशिश गर्दै हुनुहुन्छ । गर्नुहोस्, तर मैले भनेको छु बालुवा पेलेर तेल निस्किँदैन ।
नेपालले संसद विघटनविरुद्ध आन्दोलन गर्नेहरु मिल्नुपर्ने र संयुक्त सरकार बनाउनुपर्नेमा जोड दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया