निगमले जहाजमा प्राविधिक समस्या जानकारी नगराउने पाइलटलाई उडान गर्नबाट रोक

काठमाडौं । नेपाल वायु सेवा निगमले जहाजमा प्राविधिक समस्या आउँदा पनि जानकारी नगराउने पाइलटलाई उडान गर्नबाट रोक लगाएको छ ।

निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार २४ पुसमा दोहाबाट काठमाडौं आएको ए ३३० जहाज अवतरणका क्रममा हार्ड ल्याण्डिङ (अवतरण गर्दा तल झर्नुपर्ने समय दोब्बर बढी ) गरिएको थियो । तर, अवतरण गरेपछि त्यस विषयमा जानकारी गराउनुपर्नेमा नगराएका पाइलटलाई १२ फागुन २०७७ देखि उडानमा रोक लगाइएको उनले जानकारी दिइन् ।

सामान्यतया जहाजमा प्राविधिक समस्या आएपछि पाइलटले हरेक उडान र अवतरणका क्रममा भर्नुपर्ने रिपोर्टमा जानकारी गराउनुपर्छ । निगमका अनुसार सो जहाज क्याप्टेन सुनील श्रेष्ठ र महेशमान डंगोलले उडाएका थिए ।

हार्ड ल्याण्डिङ भएको विषय नियमित डाटा एनालाइसिस प्रोग्राममार्फत २५ पुसमै पत्ता लगाइएको र निर्माता कम्पनी एयरबससँग राय माग्न पत्राचार गरिएको श्रेष्ठले उल्लेख गरेकी छिन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया