मेलम्ची नगरपालिकाद्वारा क्रसर अनुगमन,मापदण्ड भित्र रहेर उत्खनन् गर्न निर्देशन

सुशील सुवेदि, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले नगरभित्र सञ्चालित विभिन्न क्रसरहरुको अनुगमन गरेको छ ।

नदिजन्य पदार्थ उत्खनन्को अवस्था, मापदण्डको पालना, प्रारम्भिक वातावरण परिक्षण प्रतिवेदन लगायत मापदण्डमा रहेर काम गरेको नगरेको विषयमा अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । दिगोरुपमा नदिजन्य पदार्थको उत्खनन्लाई ध्यान दिदै वातावरण संरक्षण गर्ने कार्यमा आवश्यक जानकारी गराउन अनुगमन गरिएको अनुगमनपछि तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मापदण्ड विपरित गरिएका क्रियाकलापहरुको निषेध गर्न आवश्यक सहयोग गर्नु नै उदेश्य रहेको नगरपालिकाले प्रस्ट्याएको छ । अनुगमनको क्रममा वातावरणिय परिक्षण प्रतिवेदनमा उल्लेख भएको व्यवस्थालाई पूर्ण रुपमा पालना नगरि नदिजन्य पदार्थ संकलन तथा उत्खनन् गरेको पाइएपछि क्रसर उद्योगहरुलाई मापदण्ड भित्र रही नदिजन्य पदार्थको उत्खनन् गर्न सुझाब दिइएको अनुगमन टोलिका सदस्य राजेन्द्र दुलालले जानकारी दिए।

२ दशमलब ५ मिटर गहिराईसम्म मात्र उत्खनन् गर्नुपर्नेमा ३ मिटर गहिराइ सम्म उत्खनन् गरेको र उद्योग बाट निस्किएको धमिलो पानी समेत व्यवस्थित नगरेको पाइएपछि अनुगमन टोलिले यस्तो कार्य नगर्न क्रसर सञ्चालकलाई निर्देशन दिएको छ । नदि किनारबाट ५ मिटर छोडेर उत्खनन गर्नुपर्नेमा ३ मिटर मात्र छोडेर उत्खनन् गर्ने, दैनिक उत्खनन् अभिलेख नराख्ने र क्रसर सञ्चालनका विभिन्न मापदण्ड पालना नगर्ने क्रसरहरुलाई आगामि दिनमा मापदण्ड भित्र रहेर मात्र उत्खनन् गर्न निर्देशन दिइएको नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्र खरेलले जानकारी दिए ।
नगरपालिकाका कर्मचारी ,जनप्रतिनिधि, सुरक्षा निकाय लगायतले अनुगमन गरेको थियो ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया