रामेछाप । बागमती प्रदेशका अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले एमालेको ब्यानरभित्र संगठित भएर लाग्न आग्रह गरेका छन् । मंगलबार मन्थलीमा एमालेको साइन बोर्ड राख्दै जिल्ला पार्टी कार्यालय रामेछाप सञ्चालनमा आएको घोषणा गरेका हुन् ।
सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेकपालाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । ढुंगेलले जनताको बहुदलीय जनवाद हतियार भएकाले योबाट कोही बाहिर जान र भाग्न नसक्ने भएकाले संगठित हुन आग्रह गर्नु भयो । ढुंगेलले आजबाटै कार्यालय खोलेर नेकपा एमाले चलाउने काममा लाग्न नेता-कार्यकर्तालई आह्वान गरेका छन् ।
ढुंगेलले रामेछापमा एमालेको पार्टी अध्यक्ष आनन्द श्रेष्ठ र सचिव पुरुषोतम कडेरिया नै भएको दाबी गर्दै पार्टीभित्र छलफल गरेर केहि गरेछ भने बेग्लै हो नभए हाम्रो अहिले उहाँ नै हो। आनन्द जी हुनुहुन्छ, शान्ती पनि यहि पार्टीको नेता हो । अब हामीले के-के करेक्सन गर्नुपर्छ विस्तारै विधिवत् घोषणा गर्नेछौं ।
तत्कालीन एमाले रामेछापमा शान्तीप्रसाद पौडेल अध्यक्ष र सचिव आनन्द श्रेष्ठ थिए । प्रदेश सांसद् समेत रहेका पौडेल माधव-प्रचण्ड समूहको नेकपामा लागेपछि ओली समूहले नयाँ कमिटी गठन गरेको थियो । ढुंगेलले अबदेखिको परिचालन एमालेको विधान बमोजिम हुने भन्दै एमालेबाहेकका साथीहरुलाई पनि समेट्ने बताउनु भयो ।
केपी ओलीको नेतृत्वमा सिके राउत,विप्लवले हतियार बिसाएको र धरहरा, रानीपोखरी, सडक,पुललगायत विकास निर्माणका काममा फड्को मारेको धारणा राख्दै उक्त कामलाई पार्टीभित्रैबाटै प्रचार हुन नसकेकोमा असन्तुष्ट व्यक्त गर्नु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया