काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि पनि पार्टी एकताको सम्भावना भएको भन्दै एमालेको माधव नेपाल पक्षलाई ‘पिन्च’ हुने काम नगर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बुटवलमा आयोजित कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले भने, ‘कुनै पनि जिल्लाका हाम्रा गतिविधिले माधवजीहरूलाई पिन्च नहोस् । किनकि, त्यसको ठूलो अर्थ छ । त्यो एमाले अब त्यही स्थितिमा एक रहने स्थिति नै छैन ।’
एमालेभित्र रहेर संघर्ष गर्ने र फेरि पनि एकताको प्रस्ताव गर्ने समझदारी बनेको भन्दै प्रचण्डले माधव नेपाल नजिकका मान्छेलाई तानेर पार्टीमा घुसाउन नहुने बताए। ‘माधवजीसँग नजिक भएका मान्छेलाई तानेर हाम्रोभित्र घुसाइहाल्छु भन्नेतिर नलाग्नुहोला’ प्रचण्डको निर्देशन छ, ‘किनभने अहिले त्यसो गर्न आवश्यक छैन । स्वयं माधवजी, झलनाथजीसँग हाम्रो सहकार्य गरिराख्ने, उहाँले त्यहाँ भित्र संघर्ष गर्ने । फेरि, एकताको प्रस्ताव राख्ने, फेरि एकतातिर नै हामी जानुपर्छ भन्ने छ ।
संसद विघटनयता माधव नेपाल पक्षसँग आफूहरुको राजनीतिक र भावनात्मक सम्बन्ध बनेको भन्दै प्रचण्डले केन्द्रमा नसोधी केही पनि निर्णय नगर्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया