सांसदहरुको भ्रमणभत्ता बढाउनुपर्ने समितिका सभापतिहरुको माग

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका सभापतिहरुले सांसदहरुको भ्रमणभत्ता बढाउनुपर्ने माग राखेका छन् ।
आइतबार सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा प्रतिनिधिसभाका १० वटै विषयगत समितिका सभापतिसँग छलफल गरे ।
छलफलमा सभापतिहरुले सांसदको भ्रमण भत्ता अत्यन्तै न्यून भएकाले काठमाडौं बाहिर अध्ययनमा जानै समस्या भएको बताएका हुन् । ‘सांसदको भ्रमण भत्ता अन्त्यन्तै न्यून छ । त्यसमा कति के गर्न सकिन्छ यसको व्यवस्था समय अनुसार हुनुपर्ने छ भनेर राख्यौं’ अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौलाले भनिन् ।

जवाफमा सभामुख सापकोटाले यो विषयमा अध्ययन गर्ने जवाफ फर्काएको उनले जानकारी दिइन् । सांसदहरुलाई अहिले भ्रमण भत्ता २५ सय दिने व्यवस्था छ । यो रकम कम भएका कारण समितिलाई अध्ययनमा निस्कन समस्या हुने गरेको अर्थ समितिका सभापति कृष्ण दाहालले बताए ।

‘समिति अध्ययनमा बाहिर जान पर्यो भने पैसाको समस्या छ । बस्ने, खाने सबैका लागि २५ सय दिइन्छ, अरु अश्र मतलब छैन्’ दाहाल भन्छन्, ‘भ्रमण भत्ता कम भएकै कारण समिति सचिवालयले सांसदहरुलाई भ्रमणमा लैजान खोज्दैन । त्यसकारण भ्रमण भत्ता परिमार्जन गर्नपर्यो भनेर राख्यौं ।’

यो समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने बारेमा समेत आफूले सुझाव राखेको दाहालले बताए । ‘स्टार र ननस्टर भनेर हेरेर त्यो होटलको खर्च बेहोर्न सकिन्छ । वा ७७ वटै जिल्लाका एक९दुई होटलको रेट मागेर सोही अनुसार व्यवस्था गर्न सकिन्छ । यो पनि गर्न नसके सांसदहरु गएर बसेको होटलको खर्च बिल अनुसार बेहोर्ने भनी दिइहाल्छ’ दाहालले भने ।

अन्यथा समितिको नाममा भ्रमणमा जाँदा सांसदले आफ्नो खल्तिको पैसा खर्च गर्नुपर्ने उनले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया