सूचनाको हकको दुरुपयोगलाई रोक्नुपर्छ : मन्त्री पार्वत गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सूचनाको हकको दुरुपयोगलाई रोक्नुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सूचना आयोगले गरेको विभिन्न भाषाका सञ्चारकर्मीहरुसँग सूचनाको हक सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालमा गलत नियतबाट सूचनाको हकको प्रयोग गरिएकाले दुरुपयोगलाई रोक्नुपर्ने बताएका हुन् ।

सूचनाका हकका अभियन्ताहरुले नै सूचना लुकाउने गर्नाले समाजमा सूचना प्रवाह हुन नसकेको पनि उनको भनाइ छ । सूचनाको हकको प्रयोगको नाममा समाजमा विकृति, बिसंगति तथा अराजकता ल्याउने र ठगी गर्ने गरिएको भन्दै यस्तो परिस्थितिको अन्तय गरिनुपर्ने उनले बताए ।
उनले भने, ‘जो सूचनाको हकको अभियन्ता हुन्छन् । उसले नै सूचना लुकाइरहने काम अब नहोस् । देख्दा अभियन्ता देखिने जसले अत्यन्तै परिवर्तन र अधिकारमुखी कुरो गर्ने तर ऊ आफैँले त्यो अधिकार र व्यवहारमा नदेखाउने,जसले गर्दा हाम्रो समाज अझै पछि पर्नुपरेको छ । समाजले ती सूचनाहरु प्राप्त गर्न नसकेको भन्‍दै उनले त्यस्तो परिस्थितिबाट समाजलाई रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

सूचना खेतीको व्यवसायमा लागेका व्यक्तिहरुको पहिचान गरेर यस्ता विचौलियाहरुलाई पनि व्यवस्थापन गर्नु पर्ने बताए । उनले भने, ‘समाजमा जहिल्यै विकृति ल्याउने, बिसंगति ल्याउने, समाजमा अराजकता ल्याउने अनि ठगी गर्ने । सूचनाको दुरुपयोग गरेर व्यक्तिहरुलाई आर्थिक लेनदेनको बार्गेनिङ गर्ने यो परिस्थितिको हामीले अन्त्य गर्नुपर्छ ।

मन्त्री गुरुङले सञ्चारकर्मीहरुले पनि सकारात्मक सूचना दिनेभन्दापनि समाजलाई अप्रिय घटना घटाउने खालका सूचना दिने र व्यक्तिको सूचनालाई मानव अधिकारविपरित प्रयोग गर्ने गरेकाले त्यसलाई पनि अन्त्य गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘कतिपय सञ्चारकर्मीहरुको पनि त्यही पेशाहरु हामी देखिरहेका छौँ । सञ्चारकर्मीहरुले पनि असल सूचना दिने, सकारात्मक सूचना दिने, समाजलाई रुपान्तर गर्ने काममा होइन । समाजलाई त्रसित बनाउने, समाजलाई अप्रिय घटना घटाउनको निम्ति सूचना दिने र कोही व्यक्तिको सूचनालाई, सूचनाको हकलाई पनि मानव अधिकार बिरोधीको रुपमा पनि प्रयोगहरु भएको छ ।
यस्तो कुरालाई कसरी अन्त्य गर्ने ? यो कुरोप्रति हामीले राष्ट्रिय सूचना आयोग सचेत रहोस्,जिम्मेवार रहोस्, अत्यन्तै पारदर्शी बनाओस् । समाजलाई उत्तरदायी, जवाफदेही बनाउने ।
मन्त्री गुरुङले सूचनाको हकको गलत प्रयोगप्रति राष्ट्रिय सूचना आयोग सचेत रहनुपर्ने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया