बौद्धमा बाल सचेतना केन्द्रले २ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर गर्दै

काठमाडौं । बाल सचेतना केन्द्र नेपालले विश्व सम्पदा सुचिमा सुचिकृत बौद्ध स्तुपा परिसरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्व, नेपाल भारत मैत्री हस्पिटल,ॐ समाज डेन्टल हस्पिटल र चाईना हस्पिटल प्रा।लिको सौजन्यमा काठमाडौं महानगरपालिका ६ बौद्धमा आगामी चैत्र २० र २१ गते दुई दिन ल्याबसहितको बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने बाल सचेतना केन्द्र नेपालका अध्यक्ष बाबुराम फुयालले जानकारी दिए । मानव जिवन रक्षाका लागि आफुहरुले निशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गर्न लागेको उनले बताए।

आधारभूत तथा जटिल प्रकृतिका स्वास्थ्य सेवाबाट वञ्चित वृद्ध, बालबालिका तथा विपन्न वर्गका व्यक्तिहरुलाई लक्षित गर्दै उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । यसैगरी, चैत्र २० र २१ गते हुने कार्यक्रमको पूर्वसन्ध्यामा सरसफाई कार्यक्रम पनि राखिएको उनले जानकारी दिए ।

कार्यक्रमहरुका लागि चैत्र १९ गते नेकपाका सांसद कृष्ण राई, २० गतेका लागि नेपाल विद्युत प्राधिकरणको पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र २१ गतेको कार्यक्रमका लागि माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ ।

शिविरबाट स्थानिय स्तरका गरिव, असहाय, विपन्न, जेष्ठ नागरिहरु लाभान्वित हुने आयोजकको विश्वास रहेको छ । स्वास्थ्य शिविरमा सहभागी भएर निःशुल्क स्वास्थ्य लाभ लिन अध्यक्ष फुयालले क्रियाशील सबै स्थानिय संघसंस्था, त्यसका पदाधिकारीहरु,बुद्धिजिवी, समाजसेवी, सर्वसाधारण तथा पत्रकारहरुलाई आग्रह समेत गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया