ओली पार्टी ध्वस्त बनाउने षड्यन्त्रमा लागेको एमालेका ११ स्थायी कमिटी सदस्यको आरोप

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ स्थायी समिति सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले पार्टी ध्वस्त बनाउन लागेको आरोप लगाएका छन् ।

वरिष्ठ नेता नेपाल पक्षका ११ स्थायी समित सदस्यहरुले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै ओलीले पार्टी र कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन लागेको आरोप लगाएका हुन् ।

मंगलबार नेपाल पक्षको स्थायी समिति बैठक बसेको थियो । विज्ञप्तिमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीद्वारा एकपछि अर्को गर्दै निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको र राज्यसत्ताको दुरुपयोग गरेर तानाशाही लाद्ने दुष्प्रयास भइरहेको आरोप समेत लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधि सभालाई अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन् ।’

ओलीले माओवादी केन्द्रसँग आफैले गरेको सम्झौताविपरीत एकीकरणविरुद्ध लाग्ने मात्रै नभइ एमाले विभाजन गर्न लागेको आरोप विज्ञप्तिमा लगाइएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया