एनआरएन डेभलपमेन्ट फन्ड कम्पनी दर्ता, आइपीओ निष्कासन हुने

काठमाडौं । गैरआवसिय नेपाली संघ ( एनआरएनए ) स्थापना गरेको १० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड कम्पनी दर्ता भएको छ । मंगलबार रजिष्टार कार्यालय काठमाडौंमा बृहत्तर उद्देश्यले कम्पनी दर्ता गरिएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो ।
पन्तका अनुसार कम्तीमा १० अर्बको कोष बनाइ नेपालको उद्यम, व्यवसाय र पूर्वाधारको क्षेत्रमा लगानी गर्ने कम्पनीको उद्देश्य छ । ८५ प्रतिशत लगानीका निम्ति गैरआवसिय नेपालीलाई लक्षित गरि छिट्टै प्राथमिक सेयर (आइपीओ) निष्कासन हुने भएको छ ।

अध्यक्ष पन्तका अनुसार संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेशाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरि आर्थिक लाभसमेत उठाउन पाउनुहुनेछ ।

सङ्घले उक्त कम्पनीमार्फत नेपालका उद्यम, पूर्वाधार र व्यवसायका क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । प्रारम्भिक चरणमा दस अर्ब रुपियाँ लगानी गर्ने योजना बनाएको कम्पनीका लागि ८५ प्रतिशत रकम प्राथमिक सेयर (आईपीओ) मार्फत जुटाउने तयारी छ ।

उक्त प्रक्रिया पनि छिटै सुरु गरिने अध्यक्ष पन्तले जानकारी दिए । उनका अनुसार कम्पनीको आईपीओमा गैरआवासीय नेपालीले आवेदन दिन सक्ने छन् । आईपीओमा तोकिएकोभन्दा अधिक रकम प्राप्त भएको अवस्थामा उक्त रकमलाई पनि लगानी गर्ने सुविधासमेत सङ्घलाई उपलब्ध छ ।
संघ अनुसार अहिलेसम्म लगानीका लागि १७० वटा परियोजनाको प्रस्ताव आएको छ । त्यसमध्ये दुई दर्जन परियोजना छनोट गरेर सम्भाव्य क्षेत्रमा लगानी गर्ने सङ्घले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया