काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।
माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलको बैठक सकारात्मक भएको बताए । उनले भने, ‘केपीले त बर्बाद पार्ने भयो, सत्ता कब्जा नै गरेर हामी सबैलाई सिध्याउने भयो भनेर कांग्रेस आउनु ठूलो कुरा ठान्छु ।’ जसपाले पनि पार्टीमा सल्लाह गरेर एकदुई दिनभित्रै टुंग्याउँछु भनेको भन्दै उनले भने, मलाई लाग्छ, केही दिनभित्र नयाँ सरकार गठन हुन्छ ।
नयाँ सरकार गठनसँगै चुनावमा केपी ओलीले नेतृत्व गरेको बाहेकका दलहरुको मोर्चा बनाउने उनले सुनाए । ‘हामीहरु र नेकपा एमालेको एउटा पक्षसँग मोर्चा त बनिराखेकै छ’ शनिबार भएको कर्मचारीको कार्यक्रममा माधवकुमार नेपाल समूहका नेताले आफूहरुले भन्दा राम्रो बोलेको सुनाए ।
जसपाका नेताहरुसँग पनि आफूहरुको वेभलेन्थ मिल्ने भन्दै उनले मोर्चा बन्नसक्ने सुनाए । कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गर्नुपर्ने बताए ।
उनले आगामी चुनावमा मुख्य दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीलाई चौथो पार्टी बनाउने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया