बुटवल । पार्टी र संसदीय दलको निर्णय तथा ह्वीप उल्लंघन गर्दै मन्त्री बनेको भन्दै चार सांसदलाई जनता समाजवादी पार्टी संसदीय दलले २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ ।
सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताका सोमबार बिहान लागि हस्ताक्षर गरेका सन्तोष पाण्डे र सुमन रायमाझीसहित विजय यादव र कल्पना पाण्डे लम्साललाई २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन संसदीय दलले निर्देशन दिएको हो ।
संसदीय दलका नेता सहषराम यादवले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ उपदफा १ (क) र २ बमोजिम चारैजनालाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टिकरण बुझाउन निर्देशन दिएको जानकारी दिए ।
‘पार्टी प्रदेश समितिको चैत २६ गतेको निर्णय र संसदीय दलको बैसाख ६ गतेको निर्णय अनुसार सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय र अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न ह्वीप जारी गरिएको निर्णय थाहा हुँदाहुँदै मन्त्रीको सपथ लिनु गम्भीर ह्वीप उल्लंघन हो’–पत्रमा सोधिएको छ–‘दल र दलका नेताको निर्देशन (ह्वीप) किन उल्लंघन गरेको हो ? प्रचलित कानून र संसदीय दलको विधान विपरित अर्को संसदीय दल गठन केका आधारमा गरेको हो ?’
२४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टिकरण नआए प्रदेश सभा सदस्य पदबाट मुक्त गर्न प्रचलित कानून अनुसार दलले आवश्यक प्रकृया अघि बढाउने दलका नेता यादवले बताए ।
संसदीय दलले पठाएको स्पष्टिकरण पत्र बुझ्न मन्त्रीहरुले अस्वीकार गरेका छन् । पत्र लिएर गएका कर्मचारीसँग झगडा गर्दै उनीहरुले पत्र फ्याँकिदिएको जसपाका प्रदेश समिति पदाधिकारीले बताए । ‘उहाँहरुमा सामान्य राजनीतिक संस्कार समेत देखिएन,पत्रलाई फ्याँकेर उल्टै पत्र लिएर गएकासँग झगडा गर्नुभएछ’– एक नेताले भने ।
स्पष्टीकरण सोधिएका मन्त्री सन्तोष पाण्डेयले भने संसदीय दलको बहुमतले निर्णय गरेर आफूलाई दलको नेता चयन गरेर आफूहरु सरकारमा सहभागी भएकाले अल्पमतले स्पष्टीकरण सोध्न नमिल्ने प्रतिक्रिया दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया