प्रधानमन्त्रीले विश्वासको मत लिने,वैशाख २७ गते संसद अधिवेशन बोलाउन सिफारिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी गराएका हुन् । त्यसका लागि संसदको बर्खे अधिवेशन वैशाख २७ गते बोलाउन सरकारले सिफारिस गरेको छ ।

नेपालको संविधानको धारा १०० १ मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्ने व्यवस्था छ ।

सरकारलाई समर्थन गरेको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ताको निर्णय नलिए पनि प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय लिएका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान एमालेको स्थायी समिति बैठकपछि पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन्छु भनी प्रस्ताव पेस गरेमा सो प्रस्ताव प्रतिनिधि सभामा रहेका बहुमत सदस्यद्वारा स्वीकृत हुनुपर्छ ।

बहुमत प्राप्त हुन नसकेमा प्रधानमन्त्री पदमुक्त हुनेछन् । हाल संसद अधिवेशन अन्त्य गरिएको छ तर जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधानका कारण अब छिट्टै संसद अधिवेशन आह्वान गरिने छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया