काठमाडौं । नेपालमा कोरोना भाईरस संक्रमण र मृत्युमा आज पनि नयाँ रेकर्ड कायम भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ३१६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा ९ हजार ४८३ संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये काठमाण्डू उपत्यकाका तीन जिल्लामा सङ्क्रमित हुनेको सङ्ख्या सर्वाधिक भएको सरकारको तथ्याङ्कले देखाउँछ ।
काठमाण्डूमा २ हजार ७८८ जना, ललितपुरमा ६०२ जना र भक्तपुरमा ५३७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ भने निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७९ जनाको मृत्यु भएको छ । तर, नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेको रेकर्डसमेत गर्दा एकैदिन २२५ जनाको मृत्यु संख्या थप भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८४ रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना डिस्चार्ज भएका छन् । हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् । दुई सय भन्दा बढी सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा झापामा २६४, मोरङमा ३५०, कास्कीमा ३७०, दाङमा २६५, बाँकेमा ५०६, रुपन्देहीमा ७०९, सुर्खेतमा २६४ र कैलालीमा २९५ रहेका छन् ।
क्वारेन्टाइनमा ४४८ जना रहेका छन् भने आइसोलेसनमा ९७००८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया