काठमाडौं । नेपग्याजमका लोकप्रिय स्ट्याण्ड(अप कमेडी कलाकार लेखमणी त्रिताल (रमेश अंकलको छोरो) तथा उमेश कुमार गौतम (यूकेजी)को नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।सर्वाधिक उचाईंको स्ट्याण्ड(अप कमेडी शोको विश्व कीर्तिमान तोड्नका लागि गत बैशाख २० गते सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरी नेपग्याजमको प्राविधिक टोली कालापत्थरतर्फ प्रस्थान गरेको थियो ।उक्त टोलीमा विश्व कीर्तिमान कार्यक्रमका कार्यक्रम संयोजक सन्तोष कुमार देवकोटा, निर्देशक ज्ञानेन्द्र मिश्र, निर्माता आशिष शाही, छायाँकार आशु बस्नेत, अल्टिच्यूड तथा ट्राभल एक्सपर्ट दीपक थापा, लोकपथ डटकमका सीईओ तथा पत्रकार रमेश जमकटेल र कलाकारद्वय लेखमणी त्रिताल तथा उमेश कुमार गौतम रहेका थिए ।इटालीका हास्य कलाकार तथा रेडियोकर्मी पाउलोले फ्रान्सेस्चिनीले २०१९ को अप्रिल २५ का दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविरको ५ हजार २७० मिटरको उचाईँमा स्ट्याण्ड–अप कमेडी प्रस्तुत गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गरेका थिए।
हिजो गिनिज बुक अफ वल्र्ड रेकर्डले आफ्नो आधिकारिक वेबसाइट मार्फत् इटालियन कलाकार पाउलोले राखेको विश्व कीर्तिमानको रेकर्ड तोड्दै नेपालका कलाकारद्वय लेखमणी त्रिताल तथा उमेशकुमार गौतमले नेपालको कालापत्थरमा ५ हजार ३०२ मिटरको उचाईंमा स्ट्याण्ड–अप गर्दै नयाँ कीर्तिमान कायम गरेको आधिकारिक सामग्री सार्वजनिक गरेको थियो। सञ्चारकर्मी तथा नेपग्याजमका संस्थापक सन्तोष देवकोटा भन्छन्, ‘यस उपलब्धिले नेपाली हास्यव्यंग्य क्षेत्रलाई अतिरिक्त उर्जा थपेको महशुस गरेका छौं । नेपाली हास्यव्यंग्यलाई विश्वभरका हास्यप्रेमीहरुले खोज्नेछन्, हेर्नेछन्।’नेपग्याजमका संस्थापक निर्देशक ज्ञानेन्द्र मिश्र भन्छन्, “यो सफलता केवल नेपग्याजम कमेडी टोलीको मात्र हैन, यो सफलता नेपाली हास्यकलामा अहोरात्र खट्ने हाम्रा अग्रज तथा उदयीमान नयाँ कलाकारहरुको पनि हो । जसले देशको, समाजको, राजनीतिको, खुशीको तथा आँशुको कुरा हास्यविधामार्फत कहिल्यै बोल्न छाड्नुभएन। हसाउँदै बेथिति तथा भ्रष्टाचारविरुद्ध लड्ने ति तमाम हास्य कलाकारहरुप्रति यो विश्व कीर्तिमान हामी समर्पण गर्न चाहन्छौं ।”

फेसबुकबाट तपाइको प्रतिक्रिया