पोखरा घटनाले उब्जाएको प्रश्नः देशमा कहाँ छ सरकार ?

काठमाडौं । नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिला सहित ६ जनाको एकैसाथ निधन भएको घटनाले राज्यको अकर्मण्यताको पुष्टि भएको बताएको छ । शुक्रबार विज्ञप्ति जारी गरी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यसले सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न सृजना गरेको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताको मृत्यु यसरी कहालीलाग्दो ढंगले हुँदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको छ । देशभरका सरकारी हुन् या निजी क्षेत्रका अस्पताल अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको हो । सरकारले यो दायित्व निर्वाह नगरेर हुने र भएका गम्भीर घटनाहरुको जिम्मेवार पनि सरकार नै हो । नेपाली कांग्रेस मृत्युको तथ्यांक राख्ने भूमिकाबाट सरकारमा रहँदासम्म जनताको जीवन रक्षाका लागि सम्पूर्ण रुपले केन्द्रित हुन प्रधानमन्त्रीलाई अपील गर्दै लापरवाहीले भएका प्रत्येक मृत्युु महंगो पर्ने चेतावनी दिन चाहन्छ ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया