पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताएका छन् । पोखरा पर्यटन परिषद्ले आईतबारआयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री गुरुङले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षा लागि प्रदेश सरकारले प्राथमिकता साथ काम गरेको बताए ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि खोपका लागि सकारात्मक पहल भएको र बजेटले पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको जनाउँदै मन्त्रिपरिषद्बाट पनि खोप खरीद गर्नेको लागि सङ्घ सरकारलाई सिफारिश गरेको जानकारी दिए । उनले प्रदेश अक्सिजनमा आत्मनिर्भर रहेको उल्लेख गर्दै स्वास्थ्य उपचारका लागि आवश्यक पूर्वाधार निर्माणको कार्य दु्रत गतिमा भइरहेको बताए । स्रोतसाधन र जनशक्तिकोसमेत अभाव हुन नदिन सरोकारवालालाई निर्देशन दिइरहेको जनाउँदै मुख्यमन्त्री गुरुङले बेलाबेलामा हुने ‘टेक्निकल इरर’का कारण बिरामीको मृत्यु हुने दुःखद् भएकोे र यसलाई गम्भीररुपमा लिएको बताए।
परिषद्ले उपलब्ध गराएको अत्यावश्यक स्वास्थ्य उपकरणले कोभिड– १९ का बिरामीलाई उपचारमा सहज हुने उनले बताए । मुख्यमन्त्रीले उक्त सामग्री सङ्क्रामक तथा सरुवा रोग अस्पतालका चिकित्सक विकास गौचन, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डुकबहादुर क्षेत्री र मातृशिशु मितेरी अस्पतालका चिकित्सक पुष्कर गौचनलाई हस्तान्तरण गरेका थिए।
पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईका अनुसार करीब रु १५ लाख मूल्य बराबरको अत्यावश्यक कोभिड अक्सिजन कन्सन्ट्रेटेड मेशिन छ थानसहित अक्सिजन मेशिन १० लिटर चार थान, पिपिइ सेट ५०० थान, पञ्जा एक हजार थान, मास्क १० हजार थान स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । नमस्ते कम्यूनिटी फाउण्डेशन अध्यक्ष भिष्म पौडेलले दुई थान अक्सिजन कन्सन्ट्रेटेड मेशिन सहयोग गरेका थिए।

फेसबुकबाट तपाइको प्रतिक्रिया