काठमाडौं । प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन् ।बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।कारको ठक्करबाट पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते उनको कोसी अस्पताल पुर्याउने बित्तिकै चिकित्कसले मृत घोषित गरेका थिए । कार प्रदेशसभा सदस्य बिन्दियाका छोरा रोबिन कार्कीले चलाएका थिए । बिन्दिया कार्की नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य हुन् । कारको ठक्करबाट मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट फर्निचरमा उद्योगमा काम गर्दथे ।
रोबिन कार्कीसहितका युवाहरु कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिँदै आएका छन् । शव व्यवस्थापनमा जाँदा युवाहरुले सोही गाडी प्रयोग गर्थे। तर बिहीबार रोबिन संक्रमितको शव व्यवस्थापनमा गर्न गएनन् । रोबिन नगएपछि राम नेपालसहितका युवाहरु संक्रमितको शव बोक्ने गाडीमै गएका थिए । प्रहरी स्रोतका अनुसार बिहीबार केहीसाथीसँग रोबिन एक होटलमा पुगेका थिए । होटलबाट निस्कदा रबिनसँग अन्य दुई जना कारमा बसेका थिए । तर अनियन्त्रित रुपमा रहेको कारले दुई जनालाई ठक्कर दिएको थियो ।‘गाडीमा अरु दुई जना युवती पनि थिए, प्रत्यक्षदर्शीले भने,‘ हामी घाइतेको उद्धारतर्फ लाग्यौं उनीहरु गाडी छाडेर भागे ।’ दुर्घटनामा परेको कार क्षतिग्रस्त छ । दुर्घटनापछि फरार चालकको खोजी भइरहेको प्रहरीले बताएको छ । चालक को थिए भन्ने बारे मोरङ प्रहरीले औपचारिक जानकारी गराएको छैन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया