पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपर्न नेता कार्यकर्तालाई माधव नेपाल पक्षको आह्वान

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले चालबाजीपूर्ण वार्ता गरेकाले भ्रममा नपर्न कार्यकर्तालाई अपील गरेको छ ।

बिहीबार र शुक्रबारको केन्द्रीय कमिटी बैठकले पारित प्रस्ताव सर्कुलर गर्दै नेपाल पक्षले पार्टीलाई एकताबद्ध राख्ने आफूहरुको चाहनामा कुठाराघात भएको बताएको छ ।

बैठकले नवौं महाधिवेशनको मार्ग निर्देशन र निर्णय अनुरुप सिंगो पार्टी एकतावद्ध र प्रभावकारी ढंगले अघि बढोस् भन्ने आफूहरुको चाहना भएपनि ओली वाह्य शक्ति सामु लम्पसार परेको निष्कर्ष निकालेको छ ।

बैठकले पार्टी संगठन निर्माणको काममा सक्रिय रहन, उत्साहित भएर सबैको मनोबल उच्च बनाउन सम्पूर्ण नेता कार्यकर्तालाई आह्वान गरेको छ ।

यस्तो स्थितिमा आफूहरु नेपालको संविधान, पार्टीको विधान र कम्युनिस्ट आन्दोलन र लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने नेपाल पक्षले चेतावनी दिएको छ । नेपाल समूहले संगठनात्मक स्थितिलाई वडा र टोलसम्म अगाडि बढाउने निर्णय पनि गरेको छ ।

‘केपी ओलीबाट निरन्तर फुट र गुटको अभ्यास भइरहेकाले कुनै ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरी आ–आफ्नो ठाउँमा सशक्त र एकतावद्ध रुपमा संगठन निर्माणको काममा सक्रिय रहन, उत्साहित भएर सबैको मनोबल उच्च बनाउन सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुमा हार्दिक् आह्वान गर्दछौं’ निर्णयमा भनिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया