काठमाडौं । वर्षेनी अनिकालको चपेटमा पर्दैआएका धादिङका अधिकांश चेपाङ समुदायमा कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण भोकमरीको अवस्था पैदा भएको छ । बेनीघाट–रोराङ गाउँपालिका १० हेकराङका चेपाङ बस्तीमा पनि भोकमरीको त्रास बढ्दै गएको छ ।
उनीहरुलाई मुस्किलले चार पाँच महिना मात्र खान पुग्छ । बाँकी समय त्यस क्षेत्रका अधिकांश परिवारले पेटभरी खान पाउँदैनन् । निषेधाज्ञाका कारण दैनिक ज्यालादारीको काम पनि रोकिएकोले अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष उनीहरु चरम भोकमरीको चपेटामा परेका छन् । समस्यामा परेका रोराङ गाउँपालिका १० हेकराङका चेपाङ परिवारलाई स्टोरिज अफ नेपालले राहत स्वरुप खाद्य सामाग्री वितरण गरिएको छ । उनीहरुलाई चामल दाल, नुन, तेल लगायत खाद्य सामाग्री वितरण गरिएको स्टोरिज अफ नेपालका संयोजक जय पौडेलले बताए । त्यस्तै, खाद्य सामाग्री मात्र नभएर माक्स, साबुन लगायत सामाग्री पनि वितरण गरिएको थियो ।
निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्न जाने अवस्था नभएको र घरमा खाने अन्न समेत नभएपछि चेपाङहरु तीन चार दिनमा एक छाक खोले वा ढिँडो खाने गरेको बुझिएको छ । खानेकुरा अभावपछि यो समुदायका धेरैजसो मानिस जङ्गलमा गिट्ठा खोज्न जाने गरेको, कोही खोलातिर माछा मार्न, कोही टाँकीको मुन्टा टिप्न र सिस्नु टिपेर छाक टार्न बाध्य भएको केही दिन अघि विभिन्न संचार माध्यमहरुमा समाचार पनि प्रकाशित भएका थिए ।
लकडाउन लम्बिएपछि भोकमरीको त्रास बढ्दै गएको चेपाङ बस्तीले अहिले पनि राहतको तीव्र प्रतीक्षा गरिरहेको छ । विकट स्थान हुनाले राहतकर्ताहरु पनि उनीहरुको पहुँचमा पुग्न नसकेको बुझिएको छ ।
गत वर्ष महामारीकै कारण रसायनिक मल अभाव हुँदा चेपाङहरुले मकैमा मलसमेत हाल्न पाएका थिएनन् । मल नहालेका कारण मकै उत्पादन कम भएको थियो । यस वर्ष पनि मल ल्याउन नसकेपछि अर्को वर्ष झनै समस्या हुने अवस्था रहेको पिडितहरुको गुनासो छ ।






फेसबुकबाट तपाइको प्रतिक्रिया