नविन लामिछाने, मनाङ । पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घलेले मनाङको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । विहिबार बिहान निजी खर्चमा फिस्टेल हेलिकप्टरबाट नासोँ गाउपालिकाको ताल पुगेका उनीहरुले ताल, धारापानी, ओडारको निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा उनीहरुले ५ लाख बराबरको खाद्यान्न, कम्बल, पाल र आवश्यक स्वास्थ्य सामाग्री समेत वितरण गरेका थिए। उनीहरु खाद्यान्न लिएर बाढीपिडित भएको ठाउँमा पुग्दा बाढीबाट प्रभावितहरु अभिभावक आएको महशुस गरेका थिए ।
मनसुन शुरुवाती अवस्थामै मनाङ जिल्लामा प्रकृति विपद् आइपरेकाले बाढी पहिरो र डुबानबाट हुनसक्ने क्षतीलाई मध्यनजर गर्दै अबका दिनमा दिर्घकालीन समाधानको उपाय अवलम्बन गर्नुपर्ने आवश्यक्ता रहेको पूर्वराज्यमन्त्री गुरुङले बताए।
यस्तैगरी नासोँ गाउपालिकाका अध्यक्ष चन्द्र घले र उपाध्यक्ष कमल माया गुरुङले पालिकाभित्र रहेका जनताको जिउधन रक्षाका लागि निरन्तर लागि परेको पनि बताएका छन् । मनाङ जिल्लामा बाढीपहिरोबाट सबै भन्दा बढी प्रभावित भएको नासोँ गाउँपालिका हो । त्यहाँका भौतिक संरचनाहरुमा ठूलो क्षति पुगेको छ ।
अविरल वर्षाका कारण गण्डकी प्रदेशमा सबैभन्दा बढी मनाङ जिल्ला प्रभाविन बनेको छ । पहिराको जोखिम अझै कायमै रहेको प्रहरीले जनाएको छ ।


फेसबुकबाट तपाइको प्रतिक्रिया