पूर्व राज्यमन्त्री गुरुङ र सांसद घलेद्वारा बाढीप्रभावित क्षेत्रको स्थलगत अवलोकन

नवीन लामिछाने, मनाङ । पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ, सांसद चिन्ता बहादुर घले र नेपाली कांग्रेस जिल्ला कार्य समितिका सचिब सुरेन्द्र गुरूङले ङिस्याङ गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

पूर्वराज्यमन्त्री गुरुङ लगायतको टिम आईतबार बिहान राहत सामाग्रीहरु सहित काठमाडौंबाट हुम्डे पुगेका हुन् । उनीहरुले हुम्डे विमानस्थल र आसपासको क्षेत्रका सर्वसाधरणबाट वस्तुस्थितीको जानकारी लिनुका साथै नदी कटान क्षेत्रको अवलोकण पनि गरेका छन् । केही साता यता आएको अविरल वर्षासँगैको बाढीले गर्दा ङिस्याङमा खाद्यान्न अभाव भएपछि उनीहरु खाद्यसामाग्री लिएर गएका हुन् । यस्तै, उनीहरुले बाढी प्रभावितहरुलाई सोलार बत्ती, औषधी, पाल लगायत सामाग्रीहरु पनि वितरण गरेका थिए ।

बाढी पहिरो र ढुबानबाट हुनसक्ने क्षतीलाई मध्यनजर गर्दै दिर्घकालीन समाधानको उपाय अवलम्बन गर्नुपर्ने आवश्यक्ता रहेको पूर्वराज्यमन्त्री गुरुङले बताए । यस्तै, निरीक्षण एवं राहत वितरणका क्रममा पूर्वराज्यमन्त्री गुरुङ र सांसद घलेले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष,कार्यकारी अधिकृत र वडा अध्यक्षहरूसंग छलफल गरी वर्तमान अवस्थाको जानकारी दिनुका साथै अल्पकालीन र दिर्घकाली समाधानका उपायका बिषयमा छलफल समेत गरेका थिए ।

यसैगरी, मनाङ समाज सेवा समिति काठमाडौंले ङिस्याङ गाउँपालिका का सबै वडाको घरधुरीलाई ट्रिपाल ,डिजेल, खाने तेल, नुन राहत स्वरूप पठाएका थिए । साथै समाजसेवी ट्रिपल पि. गुरूङले पनि वाटर प्रुफ ट्रिपाल उपलब्ध गराएका थिए ।

अझै पनि मनाङका अधिकांश स्थानको विद्युत आपूर्ती, सञ्चार सेवा अवरुद्ध छ भने मानिसहरु एक गाउँपालिकाबाट अर्को गाउँपालिका सम्म हिडडुल समेत गर्न नसक्ने भएकाले क्षीतको विवरण अझै आउन सकेको छैन ।

पूर्वराज्यमन्त्री गुरुङ र सांसद घलेले मनसुको शुरुवाती चरणमै बाढी पहिरोले घरहरु, बाटो, पूल सबै बगाएकाले मनाङ जिल्लामा खाद्य लगायत अति आवश्यक वस्तुको संकट आउन सक्ने भएकाले संघीय सरकार र प्रदेश सरकारले तत्काल खाद्यन्न ढुवानीको व्यवस्था गर्नुपर्ने आवश्यक्ता रहेको बताउँदै आएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया