मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा शैक्षिक कार्यक्रम शुरु

काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एव. बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा स्वास्थ्य क्षेत्रको विकासलाई गुणस्तरीय, अनुसन्धानमूलक र दक्ष जनशक्ति उत्पादन गर्ने कार्यका लागि प्रदेश सरकारले नयाँ आयामका साथ शैक्षिक कार्यक्रम संचालन गर्न लागेको बताएका छन् ।

मुख्यमन्त्री पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बाग्मती प्रदेश, हेटौँडाद्वारा सोमबार आयोजित शैक्षिक कार्यक्रम शुभारम्भ भएको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य सेवा तथा शैक्षिक गतिविधि र अनुसन्धानलाई प्राथमिकतामा राखेर प्रतिष्ठानको आगामी योजना र कार्यक्रमलाई गम्भीरतापूर्वक कार्यान्वयन गरिने उल्लेख गरे ।

उनले आम जनताको स्वास्थ्य उपचार सेवालाई सहजीकरण गर्दै प्रदेश सरकारले अब अस्पतालको भौतिक पूर्वाधार विकास, अक्सिजन प्लान्टको स्थापना गर्न र गुणस्तरीय सेवा प्रदान गर्ने कार्यको लागि गुरुयोजना तयार गरी कार्यान्वय गर्ने दृढता व्यक्त गरे ।
मुख्यमन्त्री पौडेलले प्रतिष्ठान दलगत स्वार्थको लागि नभई समष्टीगत रुपमा जनताको स्वास्थ्य उपचारको निमित एवम् दक्ष चिकित्सक, फर्मेसी र स्वास्थ्यकर्मीको उत्पादनको लागि स्थापना गरिएको तथ्य औल्याए ।

उनले स्वास्थ्य क्षेत्रमा गुणात्मक फड्को मार्न सरकारले भविष्यमा बाग्मती प्रदेशको राजधानी हेटौँडामा उच्च दक्ष जनशक्ति उत्पादन गर्न चिकित्सकतर्फ एमबिबिएसको कक्षा पनि प्रतिष्ठानले संचालन गर्ने लक्ष्य रहेकोमा जोड दिए ।

सो अवसरमा प्रदेशका सामाजिक विकास मन्त्री एवं प्रतिष्ठानका सहकुलपति सरस्वती बस्नेतले मुलुकमा दलहरुको नेतृत्वबाट राजनीतिक आन्दोलनबाट परिवर्तन ल्याएको भएपनि अब स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासलाई दीर्घकालिनसम्म आत्मनिर्भर तुल्याउने पक्षलाई अवलम्बन गर्न सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम र बजेटमा समावेश गरिएको बताइन् ।

उनले स्वास्थ्य क्षेत्रमा प्रदेशको सबै जिल्ला अस्पतालहरुलाई स्तरोन्नती गुणस्तरीय सेवा प्रदान गर्न र दक्ष चिकित्सकहरुलाई प्रतिस्प्रर्धाको आधारबाट सबै स्वास्थ्य क्षेत्रमा आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्ने क्षमतावान बनाउन प्रतिष्ठानले सकरात्मक योगदान पुर्याउँदै लैजाने नीति रहेको उल्लेख गरिन् ।

प्रतिष्ठानका उपकुलपति प्राडा. विश्वराज जोशीले संचालित शैक्षिक कार्यक्रममा विद्यार्थीहरुको अध्ययनमा अनुशासित, जिम्मेवारीका साथ प्रभावकारीको भूमिका निर्वाह गर्ने र निकट भविष्यमा जनस्वास्थ्य क्षेत्र, फार्मेसी र प्रयोगशालाका विशेषज्ञरु उत्पादन गरी मुलुकमा स्वास्थ्य क्षेत्रलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रतिष्ठानले आफ्नो क्रियाकलापलाई अघि बढाउने बताए ।

उक्त कार्यक्रममा शहिद गंगालाल हृदय रोग प्रतिष्ठानका निर्देशक डा चन्द्रमणि अधिकारी र प्रतिष्ठानका उपकुलपति जोशीबीच मुटुरोग सम्बन्धि उपचार सेवालाई निरन्तरता दिने विषयमा दुवै पक्षबीच सम्झौता पत्रको आदानप्रदान गरियो ।

यसैगरी प्रतिष्ठानका उपकूलपति जोशीबीच बिपी कोइराला क्यान्सर अस्पताल चिवनका निर्देशक देवराज गौतमसँग पनि क्यान्सर रोग उपचार सेवालाई अब हेटौँडा पनि निरन्तरता दिने भन्ने विषयमा सम्झौतापत्रमा आजै आदानप्रदान गरियो ।

संघीय सरकारको चिकित्सा शिक्षा आयोगबाट प्रतिष्ठानलाई स्नातक तहको पब्लिक हेल्थ (बीपीएच) को २० वटा, स्नातक फार्मेसी (बीफर्मा) र ल्याव टेक्नोलोजिष्ट –बीएसी एमएलटी ) को ३०/३० सिटको विद्यार्थीहरुलाई अध्ययन गराउन स्वीकृत प्राप्त गरेको मदन भण्डारी प्रतिष्ठानका प्रशासकीय अधिकृत अमर अधिकारीले बताए ।

चिकित्सा शिक्षा आयोगले गत जेठ २ गते उक्त प्रतिष्ठानलाई शैक्षिक कार्यक्रम संचालन गर्न अनुमति प्रदान गरेको पनि प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया