कैलाश खत्री, मन्थली। रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.११ गेलु पन्थलीका सेवा निवृत्त भूपू सैनिक हवल्दार राम बहादुर केसीले बाख्रा पालन गरेर राम्रो आम्दानी लिन थालेका छन् ।
उनले आयुष्मा कृषि तथा पशुपालन फार्म दर्ता गरेर बाख्रा पालन व्यवसायलाई अगाडी बढाएका हुन्। अहिले केसीको बाख्रा फार्ममा बोयर, जमुनापारी र स्थानीय खरी प्रजातिका गरी ५० वटा बाख्रा रहेका छन् ।
विगत दुई वर्ष देखि करिव पाँच लाख रुपियाँको लगानीमा सञ्चालन गर्नु भएको यो बाख्रा फार्मबाट अहिले वार्षिक सात लाख रुपियाँ आम्दानी गर्दै आएको उनले बताए । फार्मबाट खसी र बोका निर्यात गर्दै आएको उनको भनाई छ । बाख्रा पालन व्यवसायमा पारिवारिक साथ सहयोग पनि रहँदै आएको उनले बताए ।
फार्ममा उत्पादन भएका खसी, बोका रामेछाप, दोलखा र सिन्धुली लगायतका बजार केन्द्रमा विक्री वितरण गरिँदै आएको केसीको भनाई छ । बाख्राका लागि आवश्यक घाँस करिब १५ रोपनी जमिनमा लगाएको उनले बताए । बाख्राको उपचार र व्यवस्थापनका लागि रामेछाप प्राविधिक शिक्षालयबाट प्रारम्भिक चरणको तालिम समेत लिएको बाख्रा पालक केसीको भनाई छ ।
अहिले आधुनिक बाख्रा पालन फार्म हेर्नका लागि विभिन्न ठाउँबाट व्यवसायीहरु आउने गरेको उनले जानकारी दिए ।भूपू सैनिक केसीले बाख्रा पालन सँगै कुखुरा, हाँस र बटाइँ पालनको योजना अघि सारेका न्छ । पशुपालन व्यवसाय सुरुमा चुनौतीपूर्ण देखिए पनि काम गर्दै जाँदा सहज हुँदै जाने अनुभव समेत उनले सुनाए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया