माधव नेपाल कम्युनिष्ट आन्दोलन विरोधी र देशद्रोही हुन्ः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा कुनै ठाउँ नरहेको बताएका छन् । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता नेपाललाई कम्युनिष्ट आन्दोलन विरोधी र देशद्रोहीको संज्ञा दिएका हुन् ।

उनले आगामी चुनावमा एमालेले दुईतिहाइ ल्याउने डरले आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताए । उनले भने, ‘माधव नेपाल कम्युनिष्ट आन्दोलन विरोधी र देशद्रो हुन् । उनका लागि अब एमालेमा कुनै किसिमको ठाउँ छैन । आफ्नै सरकार ढाल्नेले अध्यक्षले माग्दा समेत विश्वासको मत दिएनन् । तर दक्षिणपन्थी सरकारलाई विश्वास छ भन्दै दलको ह्विप उलंघन गरेर फ्लोर नै क्रस गरेर हिँडे।’

अध्यक्ष ओलीले १५ वर्ष पार्टी प्रमुख भएर छाडेपछि माधव नेपाललाई छटपटी भएको बताए । उनले आफ्नो बलबुताले पार्टीलाई दुईतिहाइ नजिक पुर्याए पनि माधव नेपालले दक्षिणपन्थीहरुसँग साँठगाठँ गरेर यो अवस्थामा ल्याएको पनि आरोप लगाए ।

उनले भने, ‘हाम्रो मिहिनेतले पार्टीलाई दुईतिहाइ नजिक पुर्याएका थियौँ। तर माधव नेपालहरुले दक्षिणपन्थीसँग मिलेर आफ्नै सरकार ढालिदिए। आफ्नै दलको सरकार ढालेपछि दक्षिणपन्थीसँग मिलेर सरकार बनाएका छन्। अनि संविधानको रक्षा गर्यौँ भन्दैछन्।’ ओलीले एमाले फेरि एक पटक उठ्ने बताउँदै कार्यकर्ताहरुलाई निराश नभइ अभियानमा होमिन आग्रह गरे।

फेसबुकबाट तपाइको प्रतिक्रिया