सिन्धुपाल्चोक आवतजावतमा कडाई,क्रसर भने सञ्चालन गर्न अनुमति

चौतारा । सिन्धुपाल्चोक आवतजावतमा भोलिदेखि थप कडाई गरिने भएको छ । पछिल्लो समय आवतजावतमा गर्नेको भीड बढ्दै गएको र केन्द्रीय सरकारले डकडाउनको समय थप गरेको सन्दर्भमा आवतजावतमा कडाइ गरिएको हो । अव जहाँ बसेको छ त्यही रहने वातावरण मिलाउने निर्णय बैठकले गरेको छ । त्यसैगरी लकडाउनलाई पूर्ण पालना गर्दै जिल्लामा सञ्चालन भइरहेका विकास निर्माणका कामलाई सुचारु गरिने भएको छ ।

जिल्ला समन्वय समितिको संयोजनमा आज जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारीहरु, कार्यालयका प्रमुख लगायतको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । समितिका प्रमुख कृष्ण गोपाल तामाङका अनुसार छलफलमा लकडाउनको पालना गर्दै सामाजिक दुरीलाई ख्याल गर्दै विकास निर्माणका काम सञ्चालन गर्ने निर्णय भएको हो ।

विकास निर्माणका काम सञ्चालन गर्न सम्बन्धित स्थानीय तहले समन्वय गरी पास उपलब्ध गराउने र त्यस कामका लागि आवश्यक निर्माण सामग्री ल्याउन परे निर्माण कार्यको निरन्तरताका लागि सहजिकरण गर्ने उप समितिले पास उपलब्ध गराउने निर्णय भएको छ । बैठकले जिल्लामा सञ्चालित क्रसरहरु सुचारु गर्ने निर्णय पनि गरेको छ । स्थानीय तहहरुसँग समन्वय गरेर सामाजिक दुरीलाई कायम गर्दै क्रसर सञ्चालन गर्न अनुमति दिने भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।  त्यसैगरी कृषि सामग्री मल, बिउ लगायत आवश्यक अन्य सामाग्री साल्ट ट्रेडिङसँग सहकार्य गरेर स्थानीय तहले ल्याउने र कृषकको माग अनुसार वितरण गर्ने निर्णय भएको छ । गाउँपालिका महासंघका महासचिव तथा इन्द्रावती गाउँपालिकाका अध्यक्ष वशंलाल तामाङका अनुसार जिल्लामा पठनपाठनलाई नियमित रुपमा अगाडि बढाइने भएको छ । कक्षा एक देखि नौ सम्मको परीक्षाफल तुरुन्त प्रकाशन गरिनेछ । नयाँ शैक्षिक सत्रका कक्षा स्थानीय रुपमा उपलब्ध स्रोत साधनबाट सञ्चालन गरिने छ । ‘इन्टरनेट, एफएम रेडियो, तथा टेलिभिजन के मार्फत सकिन्छ स्थानीय उपलब्धतालाई हेर्दै पठनपाठन सञ्चालन गर्ने निर्णय भयो अध्यक्ष तामाङले भने, त्यसको लागि स्थानीय तहहरुलाई जिम्मेवारी दिइएको छ ।

प्रमुख कृष्णगोपालका अनुसार कोरोना संक्रमणको त्रासले जिल्लामा भएका गतिविधि र भविष्यमा विकास योजनालाई अघि बढाउन गर्न सकिने प्रयासमा छलफल गर्न बैठक बोलाइएको थियो । कोरोनाको त्रास र यसबाट सिर्जित समस्याका विषमा व्यापक छललफ भएको उहाँले बताउनुभयो ।

बैठकले स्थानीय गतिविधिमा स्थानीय तहलाई बढी जिम्मावार बनाएको छ । उहाँका अनुसार बैठकले १० वटा निर्णय गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया