कालिकोटमा पहिरोमा परी एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

कालिकोट । कालिकोटको नरहरिनाथमा पहिरो जाँदा एकै परिवारका सात जना सहित ९ जनाको मृत्यु भएको छ ।

गएराति ६२ वर्षीय गंगे बुढाको घरमा पहिरो खस्दा पहिरोले पुरिएर वडा नम्बर सातका ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गंगेसहित उनकी श्रीमती ६२ वर्षीय मैना बुढा, २४ वर्षीय बुहारी उषा बुढा, १० वर्षीय नातिनी चन्द्रिका बुढा, नातीहरु ७ वर्षीय राम बुढा र डेढ वर्षीय चरित्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पहिरोमा परेर गम्भीर घाइते भएकी १८ वर्षीया विमला बुढाको कुमाल स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए । यस्तै, नरहरीनाथ ४ माझगोठमा पहिरोले घर भत्किदा ६५ वर्षे बाले बुढा र उनकी श्रीमती ६२ वर्षीय मन बुढाको मृत्यु भएको डिएसपी ओलियाले जानकारी दिए ।

पहिरोले घर बगाउने समयमा चार जना भाग्ने क्रममा घाइते भएको प्रहरीको भनाई छ । घरमा पुरिएकाहरु ९ जनाको शव प्रहरी र स्थानीयहरुको सहयोगमा निकालिएको डिएसपी ओलियाले बताए ।

मंगलबार विहान रास्कोट नगरपालिका–१, बडलतोलामा गंगे खहरे खोलाको बाढीले बगाएर वेपत्ता भएका पाँच जनाको शव अझै भेटिएको छैन । पहिरोले कर्णाली राजमार्ग र कर्णाली कारिडोरको दर्जनबढी ठाउँमा पहिरो जाँदा सवारी आवागमन समेत अवरुद्ध भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया