वासिङ्टन । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले क्यापिटल बिल्डिङभित्र पसेर हिंसा भड्काएका छन् ।
सडकमा निस्किएर हिंसात्मक प्रदर्शन सुरु गरेपछि अमेरिकी राजधानी वासिङ्टन डीसीमा करफ्यु लगाइएको छ । स्थानीय समयअनुसार बुधबार साँझदेखि बिहीबार बिहानसम्म कर्फ्यु लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी कांग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला प्रदर्शन भएको बीबीसीले जनाएको छ । सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र छिरेका थिए । त्यसपछि बहस नै रोक्नु परेको थियो । ट्रम्पका समर्थकहरुले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।
त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएका छ । अवस्था नियन्त्रण बाहिर गएपछि थप सुरक्षा बल तैनाथ गरिएको थियो ।अमेरिकी सुरक्षा अधिकारीहरुका अनुसार अहिले क्यापिटल हिलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
क्यापिटल हिल्समा हिंसा मच्चाएको आरोपमा प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ । वासिङ्टन डीसी महानगरीय प्रहरीका अनुसार ५ थान बन्दुक पनि बरामद गरिएको छ ।
वासिङ्टन डीसीमा भएको झडपमा परी एक महिलाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार झडपमा प्रहरीको गोली लागी एक जना महिला घाइते भएकी थिइन् । स्थानीय अस्पतालमा उपचाररत उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्यापिटल हिल्समा हिंसा मच्चिएपछि फेसबुक, युट्युब र ट्विटरले राष्ट्रपतिको सन्देशसहितको भिडियो हटाएका छन् । ट्रम्पले समर्थकलाई शान्ति कायम गर्न र घर फर्किन आग्रह गरे पनि चुनावी नतिजाका बारेमा गलत दाबी गरेका थिए ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले विलमिङ्टन, डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भीडलाई पछि हट्न र लोकतान्त्रिक कार्यलाई अघि बढाउन दिन आग्रह गरेका छन् ।
उनले सम्बोधनका क्रममा ट्रम्पका समर्थकले गरेको विरोध नभएर विद्रोह भएको समेत बताए । ट्रम्पले गएको नोभेम्बर ३ मा भएको चुनावको मतपरिणामलाई अस्वीकार गर्दै आएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया