ओलीसँग खरिद विक्री नहुन बहिर्गमित जनमुक्ति सेनालाई प्रचण्डको आग्रह

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा केपी ओलीको जंगली राज सुरु भएको बताएका छन् । बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हिजो आफूहरुलाई जंगली भन्नेहरुले देशमा जंगलीराज सुरु गरेको बताएका हुन् ।

संविधान नमानी जथाभावी रुपमा संवैधानिक निकायमा पदाधिकारी नियुक्ति त्यसैको संकेत भएको उनले बताए । अध्यक्ष प्रचण्डले सरकारले बहिर्गमित जनमुक्ति सेनालाई खरिद गर्न सक्ने भन्दै त्यसको पछि नलाग्न आग्रह गरे । उनले भने, ‘हामीहरुविरुद्ध हिजो पनि षड्यन्त्र थियो र आज पनि गर्दैछन् । हिजो तपाइँ हाम्रो टाउकाको मूल्य तोक्नेहरु अहिले पनि टाउको खोज्दैछन् । पैसा दिएर लैजान खोज्छन् । हामीलाई भेडाबाख्रा जस्तो खरिद विक्री गर्न खोज्दैछन् केपी ओली ।हामीले माया भावना नजोड्ने र उनीहरुले जोड्ने कहीँ हुन्छ ? त्यसमा होशियास हनुपर्छ।’

उनले आफूले जनयुद्धका बहिर्गमित लडाकू, घाइते, अपांगको सुविधा, उपचारका लागि पटक पटक प्रधानमन्त्री र गृहमन्त्रीसँग कुरा गरेपनि भएको सुविधासमेत कटाएको बताए ।

उनले भने,‘ राज्यकातर्फबाट दिइने सुविधा केपी ओली सरकारले हटाएको छ । प्रधानमन्त्री र गृह मन्त्रालयमा गएर बढाउनु पर्यो भनें मैले । माइतीघरमा अनसनमा बसेका घाइतेहरुलाई लाठी हानियो । तीन पटक गृहमन्त्रीलाई त्यसो नगर भनें तर मानेनन् । प्रचण्डका चेला हुन् भनेर हान्ने काम गरियो । त्यसमा मलाई कति पीडा भयो । उपचार खर्च, जिविकोपार्जन गर्न खर्च बढाउँ भन्दा हिजो अपमानित गर्ने तर अहिले पार्टी फुटाएपछि प्रचण्डले के गरे ? यही हो हेरेको ? कालीबहादुर खाम कहाँ छन् भन्छन् ? खामलाई सिध्याउ केपी ओली गुटले के के गरे सबै थाहा छ । घाइते अपांगले हेरेको छ प्रचण्डले भन्छन् । त्यसको नियत के हो ? कालीबहादुर खामलाई माया गरेर खोजेको हो केपीले ?’

फेसबुकबाट तपाइको प्रतिक्रिया