सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको बताए ।
सरकारले तीन वर्षअघि सोनाम ल्होसारलगायतका विभिन्न चाडपर्वमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेको थियो । तामाङ समुदायको मुख्य पर्वका रुपमा रहेको सोनाम ल्होसारमा बिदा कटौती नगर्न सरोकारवालाले माग गर्दै आएका थिए ।
यस्तै, मन्त्री गुरुङले तोकिएकै मितिमा निर्वाचन हुने पनि बताएका छन् । तोकिएकै मितिमा निर्वाचन गर्नको निम्ति सुरक्षा परिषदको बैठकले निर्णय गरेको प्रस्तावलाई मन्त्रिपरिषदले पारित गरिसकेको उनको भनाई छ । प्रधानमन्त्री ओलीले निर्वाचनको वातावरण बनाउन सरकार तयार रहेको भन्दै अलमलमा नपर्न निर्वाचन आयोगलाई पनि अनुरोध गरिसकेको अवस्थामा निर्धारित मितिमै निर्वाचन हुने उनले बताए ।
उनले पछिल्ला दिनमा स्वतन्त्रताको आडमा छाडा, उत्तेजित व्यक्तिकेन्द्रीत, अदालत र राष्ट्रपति संस्थामाथि अभिब्यक्ति दिइने गरेको र समाजिक सञ्चाल र अनलाईनले प्रशारण गरेको भन्दै यसले लोकतान्त्रिक शासन पद्धतिलाई प्रहार गर्ने, हिंसा फैलाउने र मुलुकलाई मुठभेड तर्फ धकेल्ने खालको अभिव्यक्ति आएको बताए ।
स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ता बिना चलेका फेसबुक, युट्युब अनलाइनको विकृति रोक्न छिट्टै सामाजिक सञ्जाल सम्बन्धि निर्देशिका २०७७ जारी गर्ने तयारी गरिएको पनि उनले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया