राज्यविरुद्धको कसुरमा नेतृ झाँक्री पक्राउ, विनाशर्त रिहा गर्न माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव )पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
झाँक्रीको शंखमूलस्थित निवासबाट कार्यकर्ताको चर्को नारावाजीकाबीच महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले झाँक्रीलाई पक्राउ गरेको हो । नेकपा प्रचण्ड-माधव पक्षकी नेतृ झाँक्रीविरुद्ध प्रहरीले मुलुकी अपराध सहिंताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान गर्दैछ ।

झाँक्रीलाई दिइएको पक्राउ पुर्जीमा राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको उल्लेख छ ।

धारा ५७ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख छ । ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दवाव दिन नहुने’ उल्लेख छ ।

झाँक्रीलाई कसुर प्रमाणित भए ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था मुलुकी अपराध सहिंताको दफा ५८ को २ मा उल्लेख छ ।

झाँक्रीलाई बिनाशर्त रिहा गर्न माग
नेकपा प्रचण्ड-माधव पक्षले नेता रामकुमारी झाँक्रीलाई बिनाशर्त रिहा गर्न माग गरेको छ।

झाँक्रीको पक्राउलाई लिएर नेपाल प्रेससँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण गर्ने र नियन्त्रण गर्ने प्रयत्न भएको टिप्पणी गरेका छन् । गिरफ्तारीको भर्त्सना गर्दछौं र विनाशर्त रिहा गर्न माग गर्छौं ।’

केन्द्रीय संघर्ष समितिका संयोजकसमेत रहेका श्रेष्ठले पक्राउको विषयलाई लिएर आफूहरूको बैठक बसेको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया