काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले प्रदेशसभा भंग गर्ने धम्की नदिन प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई चेतावनी दिएका छन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आचार्यले मुख्यमन्त्री राईसँग प्रदेशसभा भंग गर्ने तागत नभएको बताएका हुन् । मुख्यमन्त्रीले प्रदेश सभाका सभामुख, उपसभामुख र सांसदहरुलाई धम्क्याउने र तर्साउने काम गरिराखेको उल्लेख गर्दै सांसद आचार्यले त्यसको कडा प्रतिवाद हुने समेत बताए ।
सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राई संसदबाट भागिरहेको उनले बताए । संविधानले नै २५ प्रतिशत सांसदहरुलाई सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने अधिकार दिएको र त्यसलाई प्रक्रियामा लैजानु पर्नेमा राईले संसद नै बस्न नदिइएको आचार्यले बताए । आचार्यले सरकार आफैंले बोलाएको संसद आफैले अवरोध गरिरहेको बताए ।
आफूहरु प्रतिगमन विरुद्धको आन्दोलन गरिरहेको र जनताले समेत साथ दिएकोले प्रतिगमनलाई घुँडा टेकाएर छाड्ने बताए । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि अविश्वासको प्रस्तावको पक्षमा साथ दिने आचार्यले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया