वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशमा फरक ढङ्गको विश्वविद्यालयको आवश्यकता रहेको बताएका छन् ।
मुख्यमन्त्री पौडेलले आफूहरुले चाहेको विश्वविद्यालय भनेको नयाँ ढङ्गको, सबैको पहुँच पुग्न सक्ने, त्यस विश्वविद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीहरुले काम पाउने खालको भएको भन्दै प्रदेश विश्वविद्यालय निर्माण अघि ती सबै कुराहरुमा ध्यान दिइने उल्लेख गरे ।
आईतबार प्रदेश सुशासन केन्द्रको सभाहल जावलाखेलमा भएको वाग्मती प्रदेशको प्रदेश उच्च शिक्षा ऐनको मस्यौदामाथि शिक्षा क्षेत्रका उच्चस्तरीय व्यक्तित्वहरुबीच भएको छलफल कार्यक्रममा विज्ञहरुले प्रस्तुत गरेका विभिन्न मोडलका विश्वविद्यालयमध्ये शैक्षिक कार्यक्रमको उद्देश्य पूरा गर्न सक्ने वा नसक्नेसमेत थाहा नपाई आङ्गिक क्याम्पस बनाउने भन्दा पनि शैक्षिक कार्यक्रम तथा पाठ्यक्रमको निर्माण र कार्यान्वयनमा स्वायत्ततासहितको अन्य शैक्षिक संस्थालाई अनुबन्धन नगर्ने मानित विश्वविद्यालयको अवधारणा आफूलाई उपयुक्त लागेको बताए ।
पौडेलले त्यो अवधारणाअनुसार साधन स्रोत, विद्यार्थी सङ्ख्या तथा पूर्वाधारलगायतले उपयुक्त देखिएका प्रदेशका थुप्रै क्याम्पसहरुले मानित विश्वविद्यालयको मान्यता पाउन सक्ने धारणा राखे ।
मुख्यमन्त्री पौडेलले विश्वविद्यालयहरुका पाठ्यक्रमहरु तथा शैक्षिक कार्यक्रमलाई व्यवस्थित गरिनुपर्ने बताए। वर्तमान विश्वविद्यालयहरुले पनि समयानुकूल परिमार्जित र परिष्कृत भएर शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । पौडेलले प्रविधि, बदलिँदो परिस्थिति तथा समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन हुन सक्ने किसिमका शैक्षिक योजनाहरु निर्माण हुनुपर्नेमा जोड दिए ।
स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका नागरिकहरुले आफ्नो प्रमाणपत्र दराजमा थन्क्याएर खाडीमा पसिना बगाउन जानुपर्ने अनि देशलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति बाहिरी देशबाट मगाउनुपर्ने अवस्था अन्त्य गर्न आवश्यक रहेकाले नीतिनिर्माण गर्ने तहमै सुधार गर्नुपर्ने उनको भनाइ थियो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको सभाहल हेटौँडामा आज भएको छलफलमा प्रदेशको उच्च शिक्षा कस्तो हुने वा हुनुपर्ने भन्ने विषयमा विज्ञहरुबीच छलफल भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया