सर्वोच्चको फैसलापछि कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भइरहेको छ : माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सर्वोच्च अदालतले मागै नभएको विषयमा प्रवेश गरेको बताएका छन् । नेकपाको नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको एकता प्रक्रिया नै भंग गर्ने फैसला उपयुक्त नलागेको बताए ।
जुन मागै थिएन । फैसला त्यो विषयमा प्रवेश गरेको देखिन्छ । त्यसैले फैसला उपयुक्त लागेको छैन, हामीलाई’ नेपालले यसको न्यायिक बाटोबारे छलफल भइरहेको बताए ।
त्यो न्यायिक बाटो भनेको पुनरावलोकन हो ? भन्ने प्रश्नमा नेपालले भने, ‘हो, पुनरावलोकनमा जाने हो । एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भइरहेको पनि नेपालको भनाइ छ ।

पहिले सबै पक्षको अध्ययन गर्छौं । छलफल गर्छौं र त्यसपछि मात्रै यसबारेमा धारणा बनाउँछौं’, नेपालले भने । अदालतले एमाले र माओवादी केन्द्र एकता गर्ने भए प्रक्रिया अगाडि बढाउनु भन्ने अदालतको फैसलाबारे पनि कुनै निर्णयमा नपुगिसकेको नेपालको भनाइ छ । यसबारे पनि छलफल भइरहेको उनले बताए ।

अदालतको फैसलापछि केपी ओली प्रधानमन्त्रीबाट हट्नुको विकल्प नरहेको पनि नेपालको भनाइ छ । ‘सर्वोच्च अदालतको फैसलाले पहिलो कुरा त प्रधानमन्त्रीको वैधतामाथि नै प्रश्न गर्‍यो , उहाँ कुन पार्टीको ? नेकपाको प्रधानमन्त्री होइन भने त्यस्तो अवस्थामा उहाँले विश्वासको मत लिनुपर्‍यो र नयाँ सरकार बनाउने बाटो तय गर्नलाई छोड्नु पर्‍यो’, नेपालले भने ।
विश्वासको मत लिने बाटोमा अगाडि नबढे पनि ओलीको प्रधानमन्त्री पद जाने नेपालले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया