बेनीघाट रोराङका ६५ घरपरिवारलाई खाद्यान्न सहयोग

धादिङ । खाद्यान्न संकट भोगिरहेको  दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ वडा नम्बर २ का लाइपुर, बाँसखोला, काफलटार, खर्च, पाञ्चलिङ, भल्टार, थरीगाउँलगायत स्थानमा आज खाद्यान्न सहयोग उपलब्ध गराइएको छ ।

विपन्न ६५ घरपरिवारलाई  प्रतिघर एक बोरा चामल  दाल, तेल, नुन, चिनी, साबुन  सहयोग उपलब्ध गराइएको हो ।  खानेकुरा सकिएर टाँकीको मुण्टा र गिट्ठा खाएर जीवनसङ्ग संघर्ष गरिरहेका अवस्थामा खाद्यान्न वितरण गर्न सहयोगी महिला जागरण मञ्चको  टोली गाउँमै पुगेर सहयोग उपलब्ध गराएको छ । बीस  सहयोगीबाट संकलित रकमले खाद्यान्न लिएर गाउँ पुगेको जागरण मञ्चका अध्यक्ष राधा श्रेष्ठले बताउनुभयो ।

जागरण मञ्चको टोलीसँगै लायन्स क्लब अफ काठमाडौँले पनि खाद्यान्नसहित लत्ताकपडा सहयोग पु-याएको छ ।  विभिन्न दाताबाट प्राप्त  लत्ताकपडा विपन्न परिवारका सदस्यलाई उपलब्ध गराइएको क्लबका  अध्यक्ष रोशन श्रेष्ठले बताउनुभयो । खाद्यान्न पाएपछि चेपाङ, तामाङ र मगर समुदायका विपन्न परिवार  खुशी भएका छन् ।  प्रायः  खानेकुराको अभाव हुने सो क्षेत्रमा अनिकाल परेका अवस्थामा मानिस भोकभोकै बसिरहेको समाचार जेठ २२ गते राससमा प्रकाशन भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया